सङ्घीयता जनताको बलिदानबाट प्राप्त व्यवस्था हो, सजिलै विस्थापित हुँदैन : पूर्वमुख्यमन्त्री सिंह
समाचार
जनकपुरधाम। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले सङ्घीयता कुनै व्यक्ति, दल वा शक्तिको कृपा, दान वा उपहारस्वरूप नेपालमा नआएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले सङ्घीय व्यवस्थासम्म आइपुग्दा हजारौँ उत्पीडित, उपेक्षित तथा बहिष्करणमा परेका नागरिकको लामो सङ्घर्ष, सयौँको बलिदान र असंख्य घाइते तथा बेपत्ता परिवारको पीडा जोडिएको उल्लेख गरेका छन्।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग जनताको बलिदान, आन्दोलन र परिवर्तनको आकाङ्क्षामा आधारित रहेको भन्दै यसलाई राजनीतिक पूर्वाग्रह वा दाउपेचका आधारमा विस्थापित गर्न नसकिने बताए।
पूर्वमुख्यमन्त्री सिंहले जनचाहना र जनसङ्घर्षबाट प्राप्त अधिकारलाई कम आँक्ने प्रयास भए आन्दोलन र विद्रोहका परिस्थिति सिर्जना हुन सक्ने चेतावनीसमेत दिएका छन्।
तपाईको प्रतिक्रिया