संघीयतामाथि खतरा बढे द्वन्द्व निम्तिन सक्छ: उपेन्द्र यादव

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ का प्रमुख उपलब्धिहरूको संरक्षण र प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

उनले नेपाली जनतामा निहित सार्वभौमसत्ता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक हक, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रता तथा समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता व्यवस्थाहरू संविधानका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

यादवले बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षणलाई समेत संविधानले सुनिश्चित गरेको भन्दै यी आधारभूत मूल्यहरूलाई संस्थागत गर्दै समानता, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

उनले संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रयासले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्। यस्तो गतिविधिको सशक्त प्रतिरोध आवश्यक रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ