जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सुरेश मण्डलले वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै संघीयता, लोकतन्त्र र समावेशिताको रक्षाका लागि राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता मण्डलले मधेशी, आदिवासी जनजाति, दलित, अल्पसंख्यक तथा अधिकार र अस्तित्व (Right & Existence) का लागि संघर्षरत सबै पक्षको साझा आवाजलाई बुलन्द बनाउन राष्ट्रिय राजनीतिक सम्मेलन आवश्यक रहेको बताएका छन्।
उनले वर्तमान परिस्थितिमा संविधानले सुनिश्चित गरेका अधिकार, समावेशी व्यवस्था र संघीय लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि समान विचार भएका सबै पक्षबीच व्यापक छलफल, सहकार्य र साझा रणनीति निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन्।
मण्डलले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी शासन व्यवस्था तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न राष्ट्रिय स्तरको सम्मेलन प्रभावकारी मञ्च बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया