वीरगञ्जमा डोजर प्रयोगको विरोध, नागरिक अधिकारको संरक्षण गर्न राष्ट्रिय मुक्ति पार्टीको माग

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज महानगर क्षेत्रमा बजार तथा सडक व्यवस्थापनका नाममा भइरहेको संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले वैधानिक लालपुर्जा भएका घर तथा संरचनामा डोजर प्रयोग गरेर नागरिकलाई विस्थापित गर्ने प्रयास मानवअधिकारविपरीत भएको बताएका छन्।

पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा विकासका नाममा नागरिकलाई घरबारविहीन बनाउने कार्य अस्वीकार्य भएको उल्लेख गरिएको छ। संविधानले सुनिश्चित गरेको निजी सम्पत्ति र आवासको अधिकारको उल्लंघन हुने भन्दै यस्तो कार्य रोक्न माग गरिएको छ। साथै, अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डअनुसार पनि जबर्जस्ती विस्थापन गर्न नपाइने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा उचित कानुनी प्रक्रिया, जनसहमति, न्यायोचित क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था नगरी गरिने कुनै पनि कार्य अस्वीकार्य हुने बताइएको छ। वीरगञ्जको दीर्घकालीन यातायात व्यवस्थापनका लागि वैकल्पिक उपाय अपनाउनुपर्नेमा पनि जोड दिइएको छ।

महतोले शहरभित्र सडक विस्तारका नाममा दुवैतर्फ २५–२५ मिटर संरचना हटाउने योजना ऐतिहासिक शहरलाई नै क्षति पुर्‍याउने चेतावनी दिएका छन्। उनले ऐतिहासिक बजार तथा बस्ती ध्वस्त पारेर गरिने विकास अदूरदर्शी हुने र यसले थप समस्या निम्त्याउने बताएका छन्।

राष्ट्रिय मुक्ति पार्टीले सरकारसँग तत्काल डोजर प्रयोग गरी संरचना भत्काउने कार्य रोक्न, व्यापक सार्वजनिक परामर्श गर्न तथा वैज्ञानिक अध्ययनपछि मात्र निर्णय लिन माग गरेको छ। साथै, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको सुनिश्चितता गर्नुपर्ने पनि पार्टीको माग छ।

पार्टीले वीरगञ्जको ऐतिहासिक पहिचान, आर्थिक गतिविधि तथा नागरिकको सम्पत्तिको संरक्षण गर्दै वैकल्पिक समाधान खोज्नुपर्नेमा जोड दिएको छ। विकासलाई नागरिकको जीवनस्तर उकास्ने माध्यम बनाउनु पर्ने उल्लेख गर्दै जबर्जस्ती विस्थापन रोक्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ