काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक कुमार साहले सुनसरी–४ मा वर्षायामसँगै बाढी, डुबान र पानी निकासको समस्या गम्भीर बन्दै गएको भन्दै तत्काल पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद साहले जिल्ला प्रशासन कार्यालयबाट दुई महिनासम्म पनि प्रभावकारी काम अघि नबढेकाले सम्भावित विपद् व्यवस्थापनका लागि तत्काल आवश्यक समन्वय र कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो।
उहाँका अनुसार सुनसरी–४ का विभिन्न क्षेत्रमा पानी निकासको अभाव, अवरुद्ध नाला तथा अतिक्रमणका कारण बाढी–डुबानको जोखिम बढ्दै गएको छ। त्यसैले सुखसेना शाखा नहर क्षेत्रका अवरुद्ध नाला, कल्भर्ट तथा अतिक्रमण हटाएर पानी निकास सहज बनाउनुपर्ने उहाँको भनाइ थियो।
सांसद साहले लौकही–फुलचौकबीचको खुनिया धार तत्काल खुलाउन, महेन्द्र राजमार्गका दुवै किनारामा आवश्यक कल्भर्ट निर्माण गरी पानी निकासको व्यवस्था मिलाउन तथा सुनसरी खोलाको सफाइ, तट व्यवस्थापन र अतिक्रमण नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्नुभयो।
त्यसैगरी, इनरुवा–४ गणेशपुर सडकको मर्मत, सडकको उचाइ वृद्धि र पानी निकास सुधार गर्न, इनरुवा–८ एडीबी सडकमा देखिएको डुबान समस्या सम्बन्धित ठेकेदारमार्फत तत्काल समाधान गर्न तथा मधुवन बजारमा कल्भर्ट विस्तार गरी प्रभावकारी पानी निकासको व्यवस्था गर्न उहाँले माग गर्नुभयो।
सांसद साहले सम्भावित बाढी–डुबान प्रभावित क्षेत्रको नियमित अनुगमन, पूर्वतयारी र शीघ्र कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सरकारसँग आग्रह गर्दै विपद् आउनुअघि नै प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो।
तपाईको प्रतिक्रिया