काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राज्य व्यवस्थाका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।
अध्यक्ष महतोद्वारा जारी प्रेस विज्ञप्तिमा आत्मदाह प्रयासपछि उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको खबरले आफू मर्माहत भएको उल्लेख गरिएको छ। उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
विज्ञप्तिमा कुनै पनि नागरिक अन्याय, निराशा वा असहायताका कारण आत्मदाहजस्तो कठोर कदम चाल्न बाध्य हुनु लोकतान्त्रिक राज्यका लागि चिन्ताजनक विषय भएको उल्लेख छ। यस्तो घटनालाई केवल व्यक्तिगत कमजोरीको रूपमा नहेरी यसको पछाडिका सामाजिक, आर्थिक तथा प्रशासनिक कारणहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ।
महतोले सरकारसँग मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति, आर्थिक सहयोग तथा दीर्घकालीन संरक्षणको व्यवस्था गर्न माग गरेका छन्। साथै, उनले राज्य, राजनीतिक दल र नागरिक समाजले आत्मसमीक्षा गर्दै नागरिकको आवाज सुन्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
विज्ञप्तिमा मानव जीवनभन्दा माथि कुनै पनि कानुन वा व्यवस्था हुन नसक्ने उल्लेख गर्दै राज्यको पहिलो दायित्व नागरिकको जीवन, सुरक्षा र न्याय सुनिश्चित गर्नु भएको बताएका छन्।
तपाईको प्रतिक्रिया