कोशी कटान र सेवाको अभावले पीडित ३ हजार परिवार: संसद्मा आवाज उठ्यो

समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्जिनियर दीपक कुमार साहले सुनसरी–४ अन्तर्गत पर्ने कोशी टापु र चिलिया टापु क्षेत्रमा बसोबास गर्ने नागरिकहरू दशकौँदेखि आधारभूत सेवाबाट वञ्चित रहेको विषय प्रतिनिधि सभामा उठाएका छन्।

अषाढ २६ गते शुक्रबार शून्य समयमा बोल्दै सांसद साहले बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा रहेका करिब ३ हजार घरधुरीको दयनीय अवस्था प्रस्तुत गरे। उनले ती क्षेत्रलाई नेपालभित्रकै ‘टापु’को संज्ञा दिँदै त्यहाँका बासिन्दाले सामान्य सरकारी सेवा लिन समेत अत्यन्त कठिनाइ भोग्नु परेको बताए।

उनका अनुसार प्रत्येक वर्ष कोशी नदीको कटानले बस्ती र उब्जाउ जमिन बगाइरहेको छ। स्थानीय नागरिकहरूलाई आफ्नै वडा कार्यालय वा मतदान केन्द्र पुग्न तीन दिनसम्म लाग्ने, नदी तर्नुपर्ने वा वैकल्पिक रूपमा उदयपुर हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

सांसद साहले ती क्षेत्रमा सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, विद्युत्, सञ्चार सेवा तथा मोबाइल टावरको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। साथै, जङ्गली हात्तीको आतंकले हरेक वर्ष जनधन तथा बालीनालीमा ठूलो क्षति पुर्‍याइरहेको विषय पनि उनले उठाए।

सरकारसँग उनले कोशी नदीको कटान नियन्त्रणका लागि स्थायी तटबन्ध निर्माण, सडक–पुल विस्तार, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने तथा विद्युत् र सञ्चार पूर्वाधार तत्काल विकास गर्न माग गरे। साथै, नागरिकहरूले आफ्नै स्थानीय तहबाट सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न पनि उनले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ