काठमाडौंमै बसेर नगरकोष दोहन? मौलापुरका अधिकृतमाथि करोडौँ अनियमितताको आरोप

समाचार

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ अनियमित रूपमा झिकेको आरोप लागेको छ। लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका घिमिरेले काठमाडौंमै बसेर रकम निकालेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो।

नगर प्रमुख रिनाकुमारी साहले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल छानबिन र कारबाहीको माग गरेकी छन्। उनले प्रशासनिक प्रमुखको जिम्मेवारी वहन गर्ने व्यक्तिले कार्यालयमा उपस्थित नहुँदै आर्थिक अनियमितता गर्नु अत्यन्त गम्भीर विषय भएको बताएकी छन्।

मेयर साहका अनुसार नगर प्रमुखको जानकारी वा निर्णयबिना खाताबाट ठूलो रकम झिकिनु आर्थिक अनुशासन विपरीत मात्र नभई भ्रष्टाचारजन्य कार्य हो। उनले उक्त रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गर्न र संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।

विज्ञप्तिमा नगरपालिकामा सेवा प्रवाह अवरुद्ध भएको, विकास निर्माणका काम प्रभावित भएको तथा केही भुक्तानीमा पक्षपात देखिएको समेत उल्लेख गरिएको छ। यसले नगरवासीमा असन्तुष्टि बढेको जनाइएको छ।

मेयर साहले संघीय सरकार तथा सम्बन्धित मन्त्रालयसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई निलम्बन गर्न र अवैध रूपमा निकालिएको रकम असुलउपर गर्न माग गरेकी छन्। साथै, समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहल गर्न पनि आग्रह गरिएको छ।

यसैबीच, घटनापछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्। उनीहरूले विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ