काठमाडौँ । विपद्सम्बन्धी सूचना, गुनासा तथा उद्धार सेवामा नागरिकको पहुँच सहज बनाउन गृह मन्त्रालयले ‘विपद् हटलाइन’ नम्बर १२३४ लाई देशभरका ७७ जिल्लामा सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका अनुसार यसअघि केन्द्रबाट सञ्चालन हुँदै आएको टोल–फ्री नम्बर ११४९ लाई परिमार्जन गरी नयाँ हटलाइन नम्बर १२३४ लागू गरिएको हो। नयाँ प्रणालीमार्फत सेवाग्राहीले आफ्नो जिल्लाबाटै विपद्सम्बन्धी सूचना तथा सहायता प्राप्त गर्न सक्नेछन्।
व्यवस्थाअनुसार काठमाडौँ, ललितपुर र भक्तपुरबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ। अन्य ७४ जिल्लाबाट गरिएका कल भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः पुग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्थाबाट विपद्का घटना, उद्धार, समन्वय, गुनासा तथा सुझावसम्बन्धी सेवामा स्थानीय तहबाटै छिटो प्रतिक्रिया दिन सहज हुने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार नतिजामुखी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिँदै देशभरका ७७ वटै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले विपद्को अवस्थामा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक सहयोगका लागि हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्न सबै नागरिकसँग अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया