'नेपालको जलस्रोत’ पुस्तक लोकार्पण हुँदै, प्रमुख अतिथिमा उपेन्द्र यादव

समाचार

काठमाडौं। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ।

पुस्तक लोकार्पण समारोह आइतबार दिउँसो १:०० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजना हुनेछ। समारोहमा प्रमुख अतिथि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव रहने आयोजकले जनाएको छ। कार्यक्रममा जलस्रोत, वातावरण, नीति निर्माण, शिक्षा तथा विकास क्षेत्रसँग सम्बन्धित विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सञ्चारकर्मी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

लेखकका अनुसार पुस्तकमा नेपालको जलस्रोतको वर्तमान अवस्था, विकासका सम्भावना, जल व्यवस्थापनका चुनौती, जलवायु परिवर्तनले पारेका प्रभाव तथा दिगो उपयोगका उपायबारे तथ्य, अनुभव र विश्लेषणमा आधारित अध्ययन प्रस्तुत गरिएको छ। नीति निर्माण, शैक्षिक अनुसन्धान तथा जलस्रोत क्षेत्रसँग सम्बन्धित सरोकारवालाका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास गरिएको छ।

आयोजकले पुस्तक लोकार्पण समारोहमा जलस्रोत, वातावरण तथा विकासका विषयमा रुचि राख्ने सम्पूर्ण सरोकारवाला, सञ्चारकर्मी, बुद्धिजीवी तथा इच्छुक महानुभावलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

पुस्तकका लेखक महाजन यादव सिभिल इन्जिनियरिङमा स्नातक तथा जलस्रोत विकास प्रविधिमा स्नातकोत्तर (M.Tech) अध्ययन गरेका अनुभवी इन्जिनियर हुन्। नेपाल सरकारमा तीन दशकभन्दा बढी सार्वजनिक सेवा गर्दै उनी सचिव (प्राविधिक) पदसम्म पुगेका थिए।
आफ्नो सेवाकालमा सिँचाइ, बाढी नियन्त्रण, नदी व्यवस्थापन तथा भू–जल विकाससँग सम्बन्धित विभिन्न राष्ट्रिय कार्यक्रमको योजना, नेतृत्व र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ