देवानगन्ज घटनाप्रति जनअधिकार पार्टीद्वारा दुःख व्यक्त, दोषीमाथि कडा कारबाहीको माग

समाचार

काठमाडौं । जनअधिकार पार्टीले सुनसरीको देवानगन्ज गाउँपालिकामा हिजो राति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, गम्भीर र शीघ्र छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीका अध्यक्ष डा.शरद सिंह यादवले जारी गरेको वक्तव्यमा उक्त घटनाले स्थानीय समुदायमा त्रास र चिन्ता सिर्जना गरेको उल्लेख गर्दै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ। घटनामा संलग्न जो–कोही भए पनि राजनीतिक वा अन्य कुनै प्रभावमा नपरी कानुनी दायरामा ल्याउनुपर्ने पार्टीको माग छ।

अध्यक्ष यादवले यस्ता घटनाले समाजमा असुरक्षा र अविश्वासको वातावरण सिर्जना गर्ने भएकाले सरकारले संवेदनशील ढंगले विषयलाई लिनुपर्ने बताएका छन्। उनले पीडित पक्षलाई न्याय दिलाउने तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने दायित्व राज्यको भएको उल्लेख गरेका छन्।

सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह

जनअधिकार पार्टीले घटनापछि कुनै पनि प्रकारका अफवाह, उत्तेजक अभिव्यक्ति वा सामाजिक सद्भाव बिग्रिने गतिविधिमा संलग्न नहुन सबै पक्षसँग आग्रह गरेको छ। पार्टीले स्थानीय नागरिक, बुद्धिजीवी, सामाजिक अगुवा, जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्पूर्ण आम जनतालाई संयमता अपनाउँदै शान्ति, सद्भाव र आपसी भाइचाराको वातावरण कायम राख्न अपिल गरेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ