काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य साहले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा ओम प्रकाश मेहताको मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घटनामा घाइते भएका ८ जनाको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। उनका अनुसार घाइतेमध्ये अधिकांशलाई गोली लागेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
सांसद साहले स्थानीयवासीको गुनासोलाई उद्धृत गर्दै घटनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख (एसपी) तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ले गैरजिम्मेवारी देखाएको आरोप लगाएका छन्। उनले ती अधिकारीहरूलाई तत्काल निलम्बन गरी घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भविष्यमा यस्ता घटना पुनः नदोहोरिने गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाउन तथा आवश्यक नीति–नियम निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
सांसद साहले घटनापछि सबै पक्षलाई संयम अपनाउन, अफवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेका छन्।
तपाईको प्रतिक्रिया