अनशनमा बसेका विनय यादवप्रति समर्थन बढ्दै, महिन्द्र राय यादवले मागे वार्ता

समाचार

​काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता, पूर्व सांसद तथा पूर्वमन्त्री महिन्द्र राय यादवले माइतीघर मण्डलामा जारी आमरण अनशनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

​सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते राति भएको हिंसात्मक घटनालाई लिएर राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका छन्। उक्त अनशन र तराई–मधेसको शान्ति–सुरक्षाको विषयलाई लिएर नेता यादवले सरकारलाई तत्काल पहलकदमी लिन आग्रह गरेका हुन्।

​साउन १८ गते जारी ध्यानाकर्षण तथा सुझाव वक्तव्यमार्फत पूर्वमन्त्री यादवले तराई–मधेसका केही जिल्लामा सामाजिक सद्भाव कायम राख्न सरकारले उच्च संवेदनशीलता देखाउनुपर्नेमा जोड दिएका छन्।

​"समस्याको समाधान अशान्ति र भिडन्तबाट हुन सक्दैन। सरकारले तत्काल वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण निकास खोज्नुपर्छ," यादवले भनेका छन्।

​यादवले सरकारसमक्ष राखेका मुख्य मागहरू:

​तत्काल वार्ता: माइतीघरमा अनशनरत् पक्षसँग बिना ढिलाइ वार्ता र संवाद सुरु गर्ने।

​निष्पक्ष छानबिन: देवानगञ्जको हिंसात्मक घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने।

​कारबाही र न्याय: दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने र पीडितलाई पूर्ण न्यायको अनुभूति दिलाउने।

​साथै, नेता यादवले तराई–मधेसमा सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षहरूलाई संयमित र जिम्मेवार बन्नसमेत अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ