देवानगञ्ज घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद दीपक कुमार साहको माग

समाचार

 
 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपक कुमार साहले सुनसरीको देवानगञ्ज तथा सिरहामा भएका हत्या घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले सुनसरी र सिरहाका स्वर्गीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

उनले घटनामा घाइते भएका मिथिलेश यादव, मिथिलेश मेहता, अमलेश मेहता, एउटै नाम भएका दुई जना सुनिल कुमार मेहता तथा अमित कुमार यादवलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

सांसद साहले देवानगञ्ज घटनाको छानबिन प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरिने भनिए पनि हालसम्म सार्वजनिक नभएकोप्रति असन्तुष्टि जनाउँदै प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै, दोषीलाई कानुनबमोजिम कारबाही, पीडितलाई न्याय तथा घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले नेपाल प्रहरीको तालिम प्रणाली, सामुदायिक सुरक्षा तथा धार्मिक सद्भाव व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै देशको कुनै पनि क्षेत्रमा यस्ता दुःखद घटना पुनः नदोहोरिने वातावरण निर्माण गर्न सरकारलाई विशेष पहल गर्न आग्रह गरेका छन्।

सांसद साहले सबै नागरिकको मंगलमय भविष्यको कामना गर्दै सरकारले शान्ति, सुरक्षा र न्यायप्रति अझ जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ