जनताको आशा जगाउन अग्रगामी मोर्चा गठन गरिएको हो : राउत

समाचार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुक अराजकतातर्फ उन्मुख भइरहेको हो कि भन्ने प्रश्न उठिरहेका बेला जनतामा आशा र भरोसा कायम गर्न विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीच अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।

अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै राउतले अहिले देशलाई जिम्मेवार राजनीतिक नेतृत्वको आवश्यकता रहेको बताए । जनताले परिवर्तन र भरोसाको अपेक्षा गरिरहेका बेला विभिन्न राजनीतिक विचार तथा पृष्ठभूमिका शक्तिहरू एक ठाउँमा आउनु महत्वपूर्ण राजनीतिक घटना भएको उनको भनाइ थियो ।

राउतले लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक र क्रान्तिकारी धाराका राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा समेटिएको बताए । प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनमा योगदान दिएका विभिन्न राजनीतिक योद्धाहरूलाई एकीकृत गर्दै जनताको अपेक्षाअनुसार अघि बढ्ने उद्देश्यले मोर्चा गठन गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार अग्रगामी मोर्चा कुनै निश्चित जात, समुदाय वा वर्गमा सीमित नभई सबै नेपालीको साझा राजनीतिक अभियान हो । देशको हित र जनताको अपेक्षा पूरा गर्ने उद्देश्यले मोर्चा निर्माण गरिएको उनले बताए ।

विगतमा पार्टी सञ्चालन, जनतामाझ पुग्ने क्रममा तथा सरकार सञ्चालनका क्रममा भएका कमजोरीबाट पाठ सिक्नुपर्नेमा पनि राउतले जोड दिए । विगतका कमीकमजोरीको समीक्षा गर्दै आवश्यक सुधारसहित नयाँ प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राउतले अग्रगामी मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा विद्यमान सरकारबाट कुर्सी खोस्नु नभएको दाबी गरे । सरकारमा रहेकाहरूले संविधान र कानुनअनुसार शासन सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘कुर्सी खोस्नका लागि यो मोर्चा बनेको होइन, कुर्सीमा बस्नुस् तर संविधानअनुसार चल्नुस्।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ