काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले घोषणा भएको ‘अग्रगामी मोर्चा’प्रति शुभकामना दिँदै मोर्चाको वैचारिक दिशा र नेतृत्वबारे प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासेठले मधेशको राजनीतिमा सुरुदेखि नै विभिन्न वैचारिक पृष्ठभूमिबाट आएका नेताहरू सक्रिय रहेको उल्लेख गरेका छन् । उनका अनुसार मधेशवादी, लोकतान्त्रिक, वामपन्थी तथा अलगाववादी पृष्ठभूमिबाट आएका नेताहरू आ–आफ्नो राजनीतिक स्कुलिङ पार गर्दै वर्तमान अवस्थामा आइपुगेका छन् ।
महासेठले मधेशवादी र लोकतान्त्रिक राजनीतिक धारबीच तुलनात्मक रूपमा सहकार्यको वातावरण बन्ने गरेको भए पनि वामपन्थी र मधेशवादी धारबीचको सम्बन्धमा भने सधैं शंकाको अवस्था देखिने गरेको टिप्पणी गरेका छन् ।
उनले हाल घोषणा भएको ‘अग्रगामी मोर्चा’मा वामपन्थी पृष्ठभूमिबाट आएका समूहको प्रभाव र वर्चस्व देखिएको तथा अलगाववादी पृष्ठभूमिका शक्तिहरूको समेत उपस्थिति रहेको बताएका छन् । यही कारण मोर्चा वास्तविक अर्थमा अग्रगामी दिशातर्फ अघि बढ्छ कि पुरानै वैचारिक स्कुलिङतर्फ फर्किन्छ भन्ने प्रश्न उठेको महासेठको भनाइ छ ।
मधेशको अधिकारको विषय उठाउँदा मधेशवादको ऐतिहासिक योगदानलाई ओझेलमा पारेर ‘अग्रगामी राजनीति’को नाममा अर्को वैचारिक धारलाई मात्र प्राथमिकता दिइने हो कि भन्ने प्रश्नसमेत उनले गरेका छन् । उत्पीडित समुदायको मुक्तिको सवालमा सम्बन्धित समुदायको आफ्नै आवाजभन्दा कुनै स्थापित वैचारिक ‘सिलेबस’ हाबी हुन नहुने उनको धारणा छ ।
महासेठले ‘अग्रगामी मोर्चा’ साँच्चिकै मधेश, देश तथा ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको हक, अधिकार, सम्मान र समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन् ।
उनले मोर्चालाई शुभकामना दिँदै भनेका छन्, “नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमनतिर नहोस्।”
महासेठको यो अभिव्यक्तिलाई आगामी राजनीतिक सहकार्यमा सहभागी दल तथा समूहहरूको वैचारिक पृष्ठभूमि, मधेशको मुद्दाप्रतिको प्रतिबद्धता र मोर्चाको सम्भावित राजनीतिक दिशाबारे उठाइएको प्रश्नका रूपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया