अग्रगामी मोर्चाको लक्ष्य समान अधिकार र अवसर सुनिश्चित गर्नु हो : यादव

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक, आर्थिक र सामाजिक विभेदमा परेका नागरिकलाई समान अधिकार, अवसर र सम्मान दिलाउनु अग्रगामी मोर्चाको प्रमुख उद्देश्य रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै यादवले मुलुकमा विद्यमान असमानता र विभेद अन्त्य गर्दै सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक रूपमा असमानता, आर्थिक रूपमा शोषण तथा सामाजिक रूपमा अपहेलित र अपमानित जीवन बिताउन बाध्य नागरिकको अधिकार सुनिश्चित गर्न साझा राजनीतिक प्रयास आवश्यक रहेको बताए।

यादवले संविधान, विधि र लोकतान्त्रिक प्रक्रियाअनुसार राज्य सञ्चालन हुनुपर्ने धारणा राख्दै वर्तमान अवस्थामा मुलुक संविधान र कानुनी प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन गर्न खोजिएको आरोप लगाए। उनले संविधान संशोधनमार्फत राज्य सञ्चालनलाई थप व्यवस्थित र लोकतान्त्रिक बनाउनुपर्ने बताए।

मुलुकमा सुशासनको अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको तथा शान्ति–सुरक्षाको अवस्था पनि अपेक्षाअनुसार सुदृढ हुन नसकेको यादवको दाबी थियो। आर्थिक अवस्था कमजोर बन्दै गएको र राजनीतिक रूपमा अन्योल तथा अनिश्चितता बढिरहेको उनले बताए।

राज्यका विभिन्न निकायमा शक्ति केन्द्रित हुँदै जानु लोकतन्त्रका लागि चुनौतीपूर्ण हुने भन्दै यादवले संवैधानिक तथा वैधानिक संस्थाहरूले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्नेमा जोड दिए। शक्ति केन्द्रीकरणले सर्वसत्तावाद र त्यसपछि अधिनायकवादको बाटो खोल्न सक्ने उनको चेतावनी थियो।

उनले लोकतान्त्रिक मूल्य, संविधान र विधिको शासनलाई सुदृढ गर्दै समान अधिकार तथा अवसरका लागि अग्रगामी राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ