प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्छौं : रिजवान अन्सारी
समाचार
काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानताको उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै अन्सारीले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न अझै बाँकी रहेको बताए। वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनको भनाइ थियो।
अन्सारीले संघीय गणतन्त्र, संघीयता तथा जनताले प्राप्त गरेका अधिकारमाथि चुनौती उत्पन्न हुन थालेको भन्दै त्यसको प्रतिरोध गर्न अग्रगामी शक्तिहरू एक ठाउँमा आएको बताए। उनका अनुसार मोर्चाको उद्देश्य विगतका उपलब्धिको रक्षा मात्र नभई उत्पीडित समुदायका थप अधिकार सुनिश्चित गर्नु पनि हो।
‘सत्ता प्राप्तिका लागि मोर्चा बनेको होइन’
अन्सारीले यसअघि पनि विभिन्न राजनीतिक मोर्चा बनेर केही समयपछि विघटन भएको उदाहरण दिँदै अग्रगामी मोर्चालाई पनि त्यस्तै रूपमा नबुझ्न आग्रह गरे। मोर्चा केवल सत्ता प्राप्तिका लागि गठन नगरिएको उनको दाबी थियो।
उनले वर्गीय तथा जातीय रूपमा उत्पीडनमा परेका समुदायलाई सम्बोधन गर्दै सबै उत्पीडित जनताको राज्यसत्तामा अर्थपूर्ण सहभागिता सुनिश्चित नभएसम्म मोर्चा कमजोर नहुने बताए।
विगतका राजनीतिक आन्दोलन र सहकार्यका क्रममा भएका कमजोरीबाट पाठ सिकेर अब जनताको चाहनाविपरीत अघि नबढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। मोर्चाप्रति आशंका नगर्न आग्रह गर्दै अन्सारीले यसलाई उत्पीडित समुदायको अधिकार र प्रतिनिधित्वका लागि दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने संकेत गरे।
पुराना दलको योगदान स्वीकार, असफलतामाथि प्रश्न
अन्सारीले आफू पुराना राजनीतिक दलहरूको बचाउ गर्न नआएको स्पष्ट पार्दै उनीहरूले मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन ल्याएको पनि स्वीकार गरे।
उनका अनुसार पुराना दलहरूको नेतृत्वमा भएका आन्दोलन र संघर्षकै परिणामस्वरूप समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। उनले वंशवादी शासनको अन्त्य भई जनताका छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्ने राजनीतिक वातावरण निर्माण हुनु पनि पुराना दलहरूको योगदान भएको बताए।
तर राजनीतिक परिवर्तनपछि सुशासन, आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधार गर्ने सवालमा पुराना दलहरू अपेक्षाअनुसार सफल हुन नसकेको अन्सारीको टिप्पणी थियो। यही कमजोरीका कारण मुलुकमा विभिन्न राजनीतिक शक्तिले चलखेल गर्ने अवस्था बनेको उनको भनाइ थियो।
दुई तिहाइको सरकारलाई जनताको वाचा पूरा गर्न आग्रह
अन्सारीले वर्तमान सरकारलाई पनि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गरे। जनताले ठूलो विश्वासका साथ दुई तिहाइको सरकार निर्माण गर्ने अवसर दिएको उल्लेख गर्दै उनले सरकारले त्यसअनुसार काम गर्नुपर्ने बताए।
तर वर्तमान अवस्थामा नेपाली जनताले राज्य सञ्चालनमा असन्तुष्टि र अन्योल महसुस गरिरहेको उनको दाबी थियो। उनले सरकारका गतिविधि जनहितविपरीत भए अग्रगामी मोर्चा त्यसको विरोधमा उभिने चेतावनी दिए।
जनताको अधिकार, हित र लोकतान्त्रिक मूल्यविपरीतका निर्णय अघि बढाइए मोर्चासँगै उत्पीडित समुदायका जनता समेत त्यसको सशक्त प्रतिकारमा उत्रिने अन्सारीको भनाइ थियो।
‘उत्पीडित जनताको सपना साकार पार्ने दिशामा अघि बढ्छौं’
अन्सारीले विभिन्न अग्रगामी राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा समेटेर प्राप्त राजनीतिक उपलब्धिको संरक्षण र थप अधिकार प्राप्तिका लागि संघर्ष अघि बढाउने बताए।
उनले अग्रगामी शक्तिहरूबीच एकता कायम गर्दै संविधानले सुनिश्चित गरेका अधिकारलाई संस्थागत गर्ने र बाँकी अधिकारका लागि राजनीतिक संघर्ष जारी राख्ने धारणा राखे।
अन्सारीले अग्रगामी मोर्चाको गठनलाई उत्पीडित समुदायको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रूपमा चित्रण गर्दै यसले मुलुकलाई उत्पीडित जनताको राज्यसत्तामा समान र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने दिशामा अघि बढाउने दाबी गरे।
उनका अनुसार संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानताका उपलब्धिको रक्षा गर्दै सामाजिक तथा राजनीतिक विभेद अन्त्य गर्ने अभियानलाई मोर्चाले प्राथमिकतामा राख्नेछ।
तपाईको प्रतिक्रिया