हृदयेश त्रिपाठीको सुझाव : युवालाई नेतृत्व दिए मात्रै नयाँ मोर्चाले मधेशको विश्वास जित्न सक्छ

समाचार

काठमाडौं । पूर्वमन्त्री तथा नेता हृदयेश त्रिपाठीले नयाँ राजनीतिक मोर्चा गठन हुनु सकारात्मक कदम भए पनि त्यसको सफलता वर्तमान नेतृत्वको भूमिकामा निर्भर रहने बताएका छन्।

संघीय लोकतान्त्रिक मोर्चाको ‘अकाल, अविवेकी र षड्यन्त्रपूर्ण अवसान’ पछि नयाँ मोर्चा गठन हुनु सकारात्मक भएको उल्लेख गर्दै त्रिपाठीले मोर्चालाई सफल बनाउन वर्तमान अध्यक्ष तथा नेताहरूले नेतृत्वबाट अलग भएर सल्लाहकार वा अभिभावकको भूमिकामा बस्नुपर्ने सुझाव दिएका छन्।

उनले युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न सके मात्रै तराई–मधेशका जनताको विश्वास क्रमशः प्राप्त गर्ने सम्भावना रहेको बताएका छन्। वर्तमान नेतृत्वले जनताको विश्वास आर्जन गर्ने सम्भावना न्यून रहेको कुरा केही समयअघि सम्पन्न निर्वाचनको परिणामले स्पष्ट पारेको उनको दाबी छ।

त्रिपाठीले युवालाई नेतृत्व हस्तान्तरण गर्नु ऐतिहासिक र कदरयोग्य योगदान हुने बताएका छन्। नयाँ मोर्चाले मधेशका जनताको अपेक्षा र भावनालाई सम्बोधन गर्न नेतृत्व पुस्तान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ