काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ, पीभीएसएम, युवाईएसएम, एभीएसएम नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनको भ्रमणले नेपाल–भारतबीचको लामो समयदेखिको विशिष्ट रक्षा सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने विशिष्ट एवं ऐतिहासिक परम्परा रहँदै आएको छ। भारतीय सेनाध्यक्षको यो भ्रमण पनि यही परम्परालाई निरन्तरता दिने उद्देश्यसँग जोडिएको छ। दुई देशका सेनाबीचको असाधारण सम्बन्धको प्रतीकका रूपमा यो परम्परालाई लिइन्छ।
काठमाडौं आइपुगेका जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा जनरल सेठले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध तथा रक्षा र सुरक्षा क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
भारतीय सेनाध्यक्षको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै रक्षा तथा सुरक्षाका विभिन्न क्षेत्रमा सहकार्यलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया