लुम्बिनी प्रदेश सभाको निर्णयप्रति जसपाको आपत्ति, निर्णय सच्याउन माग

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सचिवालयले पार्टीकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

जसपा नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले बिहीबार प्रेस विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेश सभा सचिवालयले भदौ २४ गते सूचना पत्र–४ मार्फत काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरेको विषय गैरकानुनी, असंवैधानिक तथा संसदीय अभ्यासको मर्मविपरीत रहेको जनाएका छन् । पार्टीले उक्त निर्णय तत्काल सच्याउन प्रदेश सभा सचिवालयसमक्ष माग गरेको छ।

जसपाले लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री चेतनारायण आचार्यले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्नो संसदीय दललाई स्पष्ट निर्देशन दिएको जनाएको छ। उक्त निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्रीको पक्षमा मतदान गरेको भन्दै प्रदेश सभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, आदेशकुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा बेल्वासे (केसी) लाई पार्टीले स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जवाफ नआएपछि भदौ १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट उनीहरूमाथि कारबाही गरिएको पार्टीको भनाइ छ।

पार्टीका अनुसार सह–महासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्रलाई आधार बनाएर प्रदेश सभा सचिवालयले निर्णय गरेको छ। तर अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा उनको नामबाट प्रस्तुत पत्रलाई जसपा नेपालको केन्द्रीय समितिको निर्णयका रूपमा स्वीकार गर्नु गम्भीर आपत्तिजनक, गैरकानुनी तथा चुनौतीयोग्य विषय भएको पार्टीले जनाएको छ।

जसपा नेपालले सत्ता जोगाउने राजनीतिक स्वार्थका लागि किर्ते कागजात प्रयोग गर्ने, गैरकानुनी प्रक्रिया अपनाउने तथा राज्यका संवैधानिक र संसदीय निकायको दुरुपयोग गर्ने कार्य लोकतान्त्रिक व्यवस्था र विधिको शासनमाथिको गम्भीर प्रहार भएको बताएको छ।

पार्टीले घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन माग गर्दै लुम्बिनी प्रदेश सभा सचिवालयको निर्णय तत्काल सच्याउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा किर्ते कागजात तयार गर्ने र प्रयोग गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यस विषयमा निर्वाचन आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउँदै जसपा नेपालले उक्त निर्णयविरुद्ध आवश्यक न्यायिक तथा कानुनी उपचारका प्रक्रिया अवलम्बन गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ