जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।
जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले गठन नभएको स्पष्ट पारे ।
‘हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौं,’ साहले भने, ‘देशलाई अहिलेको संकटबाट निकास दिन र नयाँ राजनीतिक बाटो निर्माण गर्न मोर्चा आवश्यक भएको हो।’
उनले देश अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिसहित बहुआयामिक संकटबाट गुज्रिरहेको बताए । यस्तो अवस्थामा समस्यालाई केवल सत्ताको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने उनको भनाइ थियो ।
साहका अनुसार अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई जोड्ने, संकटबाट बचाउने, नयाँ निकास दिने, विगतका उपलब्धिहरूको रक्षा गर्ने तथा जनताका थप अधिकारको ग्यारेन्टी गर्नु हो ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै उनले अहिले संगठन र कार्यकर्ताबीचको एकता तथा मनोबल बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता ।’
मोर्चामा आबद्ध नेतृत्व तथा राजनीतिक शक्तिहरूको विगतको योगदानको चर्चा गर्दै साहले उनीहरूले संघर्षको इतिहास निर्माण गर्दै समाज र देशमा अमिट छाप छोडेको बताए । विगतमा विकासका विभिन्न मोडलसमेत निर्माण भएको उल्लेख गर्दै उनले त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सत्ता परिवर्तनको खेलमा केन्द्रित नभएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोपसमेत लगाए । सत्ता केन्द्रित राजनीतिक गतिविधिले मुलुकका वास्तविक समस्या समाधान गर्न नसक्ने उनको भनाइ थियो ।
साहले आगामी दिनमा संगठनलाई थप सुदृढ गर्दै देशभरका कार्यकर्ता र जनताको मन जोड्ने अभियान सञ्चालन गरिने बताए । अग्रगामी मोर्चालाई बलियो बनाउन विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि तथा आगामी संघर्षका लागि आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए ।
मुलुकलाई वर्तमान संकटबाट निकास दिन जनताको सहभागिता, एकता र संगठित संघर्ष अपरिहार्य रहेको साहले बताएका छन् ।
तपाईको प्रतिक्रिया