उपेन्द्र यादवको उद्घोष : मधेश अधिकारका लागि संघर्ष अझै बाँकी छ

समाचार

जनकपुरधाम। नौदलीय अग्रगामी मोर्चाले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माणले मात्रै अधिकारको लडाइँ पूरा नभएको भन्दै अब मधेश राज्य निर्माणका लागि संघर्ष आवश्यक रहेको बताएका छन्।

यादवले आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने धारणा राखे। उनले वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिँदै संविधान संशोधन र संघीयता सुदृढीकरणका प्रतिबद्धताबाट सरकार पछि हटेको आरोप लगाए।

उनले जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै भाषा, संस्कृति र पहिचानको सम्मानबिनाको लोकतन्त्र बलियो हुन नसक्ने बताए। वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई बढावा दिएको दाबी गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरे।

कृषि क्षेत्रबारे बोल्दै यादवले किसानले समयमा पानी, मल, गुणस्तरीय बीउ र उत्पादनको उचित बजार नपाएको उल्लेख गरे। मिटरब्याजको समस्याबाट किसानलाई मुक्त गर्न गाउँ–गाउँमा ग्रामीण बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने उनको माग थियो।

उनले छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार नपाए अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिए।

कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध दलका शीर्ष नेतासहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता, कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ