बाराका नवआगन्तुक प्रजिअ अधिकारीको प्रतिबद्धता : शान्ति सुरक्षा, सुशासन र तस्करी नियन्त्रणमा जोड

समाचार

बारा । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय बारामा मंगलबार सञ्चारकर्मीसँग आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले लागूऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण तथा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगमाथि आवश्यक कानुनी कारबाही गर्ने बताएका हुन्।

उनले जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए। नागरिकका समस्या तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

भेटघाटका क्रममा सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयबाट हुने सूचना प्रवाहमा देखिएका समस्या, प्रशासन र सञ्चार क्षेत्रबीचको समन्वय तथा नेपाल पत्रकार महासंघ बारासँग विगतमा भएको भनिएको समन्वय अभावलगायत विषयमा प्रजिअ अधिकारीको ध्यानाकर्षण गराएका थिए।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै अधिकारीले आफू सबै सरोकारवाला निकायसँग सम्मानजनक व्यवहार र सहकार्यका साथ अघि बढ्ने बताए। प्रशासन र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै सूचनाको पहुँच र समन्वयमा आवश्यक ध्यान दिने उनले प्रतिबद्धता जनाए।

भेटघाटमा पत्रकारहरूले बाराको सीमा क्षेत्रमा हुने तस्करी, लागूऔषध नियन्त्रण, शान्ति सुरक्षा, अवैध क्रसर उद्योग तथा प्रशासनिक सेवा प्रवाहलगायत जिल्लाका समसामयिक विषयमा प्रजिअ अधिकारीसँग जिज्ञासा राखेका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई तथा इलाका प्रशासन कार्यालय सिमराका कार्यालय प्रमुखको उपस्थिति थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, जिल्ला सचिव पुष्पराज खतिवडा, जिल्ला कार्यसमिति सदस्य नरेश गुप्तालगायत पत्रकार मनोज साह, एसएस पटेलसहित सञ्चारकर्मीहरूको सहभागिता थियो।

जाजरकोट हुँदै बाराको प्रशासनिक नेतृत्वमा

प्रमुख जिल्ला अधिकारी अधिकारी यसअघि जाजरकोटका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। जाजरकोटमा रहँदा उनले भूकम्प प्रभावितको पुनर्निर्माण, बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनलगायतका काममा जिल्ला प्रशासनको नेतृत्व गरेका थिए।

त्यसअघि उनी बाँकेको कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रमुख कोष नियन्त्रकका रूपमा कार्यरत थिए। लेखा समूहका उपसचिव रहेका अधिकारी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएपछि जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका थिए।

बाँकेमा कार्यरत रहँदा उनी कर्मचारी मिलन केन्द्र बाँकेको अध्यक्षसमेत बनेका थिए। सार्वजनिक वित्त व्यवस्थापन, सरकारी खर्च तथा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा समेत उनले काम गरेका छन्।

गृह मन्त्रालयको पछिल्लो सरुवा निर्णयअनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकारी रहेका अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको हो। उनले भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बारामा हाजिर गरेका हुन्।

बारामा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँगको पहिलो औपचारिक भेटमा उनले जिल्लाको शान्ति सुरक्षा र सुशासनसँगै लागूऔषध तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट गरेका छन्।

सीमावर्ती जिल्ला भएकाले बारामा सीमा अपराध तथा तस्करी नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, अवैध क्रसरमाथि निगरानी, नागरिकलाई प्रभावकारी सेवा प्रवाह तथा प्रशासन र सञ्चार क्षेत्रबीचको समन्वय उनका प्रमुख प्राथमिकताका विषय बन्ने देखिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ