जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपति प्राध्यापक डा. श्यामनारायण लाभको राजीनामा माग गर्दै सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले शैक्षिक सत्र २०८३ का लागि छुट्याइएको छात्रवृत्ति कोटामा उपकुलपतिले मनोमानी गरेको आरोप लगाएका छन् । प्रवेश परीक्षामा कम अङ्क ल्याएका विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
विद्यार्थीहरूले पाँच दिनअघि उपकुलपतिको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए। विद्यार्थीहरूले उपकुलपतिको स्वविवेकीय अधिकारअन्तर्गत प्रत्येक शैक्षिक सत्रमा पाँच जनासम्मलाई छात्रवृत्ति दिन सकिने व्यवस्था रहेको कार्यविधिको दफा १० अनुसार गरिएका निर्णयसमेत रद्द गर्न माग गरेका छन्।
छात्रवृत्ति व्यवस्थापन कार्यविधि पुनःसंशोधन गरी स्पष्ट मापदण्डका आधारमा योग्य विद्यार्थीलाई मात्र छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ। विद्यार्थीहरूका अनुसार ५० सिट मात्र रहेको बीएएलएलबी कार्यक्रममा १२४ औँ र १२८ औँ योग्यताक्रममा रहेका विद्यार्थीलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिने निर्णय गरिएको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा प्रकाशन भएपछि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । कार्यविधिको दफा १० मा नियमित छात्रवृत्तिमा समावेश हुन नसकेका विद्यार्थीमध्ये उपकुलपतिको स्वविवेकीय मूल्याङ्कनका आधारमा एक शैक्षिक सत्रमा अधिकतम पाँच जनालाई छात्रवृत्ति प्रदान गर्न सकिने व्यवस्था रहेको विद्यार्थीहरूले बताएका छन् ।
तर, प्रवेश परीक्षाको योग्यताक्रममा पछाडि रहेका तथा भर्नाका लागि समेत योग्य नरहेका विद्यार्थीलाई कसरी पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरियो भन्ने प्रश्न उनीहरूले उठाएका छन् । छात्रवृत्ति वितरणमा समानता, पारदर्शिता र कार्यविधिको पूर्ण पालना हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान सभापति प्रवेश यादवले बताएका छन् ।
आफ्ना माग सम्बोधन नभएसम्म उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी जारी राख्ने उनले चेतावनी दिएका छन् । यसैबीच, विद्यार्थीहरूले उपकुलपति लाभमाथि विश्वविद्यालयमा कर्मचारी तथा शिक्षक नियुक्तिका क्रममा समेत प्रक्रिया मिचेको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जनकपुरधामका पूर्वमेयरका नातेदारलाई लेखा अधिकृत पदमा बिना विज्ञापन नियुक्त गरिएको छ । त्यस्तै, कुनै विज्ञापन र प्रतिस्पर्धाबिनै एक शिक्षकलाई समेत नियुक्त गरिएको विद्यार्थीहरूको आरोप छ ।
तपाईको प्रतिक्रिया