कलैया । नेपाल संघीय समाजवादी पार्टीको बारा जिल्ला समितिको बैठक सदरमुकाम कलैयामा सम्पन्न भएको छ। बैठकले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
बैठकले जिल्ला समिति विस्तार, जिल्ला अधिवेशन र आगामी कार्ययोजनामाथि छलफल गर्दै नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो।
नवनिर्मित जिल्ला समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, कोषाध्यक्षमा नसारुद्दिन देवान र सचिवमा बौवा लाल ठाकुर चयन भएका छन्।
बैठकले आगामी मंसिर २० गते सदरमुकाम कलैयामा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। अधिवेशनलाई संगठन विस्तार, राजनीतिक सुदृढीकरण तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा लिँदै आवश्यक तयारी अघि बढाउने निर्णय गरिएको छ।
त्यसैगरी, आगामी तीन महिनाभित्र बारा जिल्लाका सबै नगरपालिका, गाउँपालिका, निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पार्टी संगठन निर्माण तथा विस्तार गर्ने लक्ष्य तय गरिएको छ। जिल्लाभर साधारण तथा सक्रिय सदस्यता वितरणलाई तीव्रता दिँदै पार्टी संगठनलाई जनताको घरदैलोसम्म पुर्याउने निर्णय बैठकले गरेको छ।
पार्टीका गतिविधिलाई व्यवस्थित बनाउन सदरमुकाम कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णयसमेत गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मुलुक गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको संरक्षणका लागि संगठनलाई बलियो बनाउनुपर्ने बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा जनअधिकारजस्ता उपलब्धिलाई संस्थागत गर्दै जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए।
“वर्तमान परिस्थितिले हामीलाई अझ बलियो, अनुशासित र जनतासँग प्रत्यक्ष जोडिएको संगठन निर्माण गर्ने जिम्मेवारी दिएको छ। अब संगठनलाई कागजमा मात्र सीमित राखेर हुँदैन, जनताको घर–घरमा पुगेर उनीहरूका समस्या, पीडा र अधिकारका सवालसँग जोडिनुपर्छ,” अन्सारीले भने।
उनले बारा जिल्लाका नेता तथा कार्यकर्तालाई संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउन निर्देशन दिँदै जनतालाई संगठित र जागरूक बनाउने गरी राजनीतिक गतिविधि सञ्चालन गर्न आग्रह गरे।
अन्सारीले आगामी दिनमा जनताको अधिकार, सामाजिक न्याय, समानता, समावेशिता र संघीयताको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर पार्टीको राजनीतिक अभियान अघि बढाउने बताए।
नवनिर्मित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै उनले बारा जिल्लामा पार्टी संगठनलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रियतापूर्वक लाग्न निर्देशन दिए।
बैठकमा मधेश प्रदेशका पूर्व गृह, कानून तथा सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य विमला अन्सारी, पार्टीका केन्द्रीय सदस्य नासिर शेख, केन्द्रीय सदस्य मुफ्ती मुइनुद्दिन, बारा जिल्ला इन्चार्ज कलामुद्दिन हवारीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया