काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
काठमाडौंको कोटेश्वरमा शनिबार बसेको आजपा सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै साहले जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दालाई सम्बोधन गर्न अन्तरिम सरकार र अन्तरिम संविधान आवश्यक रहेको दाबी गरेका हुन्।
साहका अनुसार जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरिए पनि त्यसअनुसार संविधान निर्माण नगरिनु अहिलेको राजनीतिक अन्योलको प्रमुख कारणमध्ये एक हो। उनले वर्तमान अवस्थाले संविधान र सरकारबीच नै गम्भीर प्रश्न खडा गरेको तर्क गरे।
“यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ,” साहले भने।
उनले दुवै पक्षलाई एकैपटक सही ठहर गर्न नसकिने जिकिर गर्दै प्रतिनिधिसभाको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने परिकल्पना अहिलेको संविधानमा नरहेको दाबी गरे।
“प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुने परिकल्पना यो संविधानमा छैन। त्यसैले अहिलेको संविधानको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,” उनले भने।
राष्ट्रपति कार्यालयले भने २०८२ भदौ २७ मा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दा मुलुकको विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्न राष्ट्रपतिका संवैधानिक अधिकार प्रयोग गरिएको जनाएको थियो। उक्त विज्ञप्तिमा कार्कीलाई ‘अन्तरिम सरकारको प्रधानमन्त्री’का रूपमा नियुक्त गरिएको उल्लेख छ।
साहले वर्तमान राजनीतिक संकटलाई पुरानै संवैधानिक व्यवस्थाभित्रबाट समाधान गर्न खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने बताए। मुलुकलाई निकास दिन तत्काल अन्तरिम सरकार गठन गरी अन्तरिम संवैधानिक व्यवस्थामार्फत अघि बढ्नुपर्ने उनको जोड छ।
उनका अनुसार जेनजी आन्दोलनले उठाएका राजनीतिक, सामाजिक तथा शासन व्यवस्थासँग सम्बन्धित प्रश्नलाई सम्बोधन नगरी केवल सरकार परिवर्तनबाट मात्र संकट समाधान हुन सक्दैन। त्यसका लागि आन्दोलनका मुद्दा, राज्य सञ्चालनको संरचना र संवैधानिक व्यवस्थामाथि समेत पुनर्विचार आवश्यक रहेको उनले बताए।
साहले वर्तमान अवस्थालाई व्यवस्था र सरकारबीचको संवैधानिक अन्तरविरोधका रूपमा व्याख्या गर्दै अन्तरिम सरकार र अन्तरिम संविधान निर्माण गरेर मात्रै मुलुकलाई राजनीतिक निकास दिन सकिने आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
“अहिले अन्तरिम सरकार र अन्तरिम संविधान गठन गरेर अगाडि बढ्नुको विकल्प छैन,” उनले भने।
यसैबीच, आजपाले आन्दोलनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठकमा सरकारको कामकारबाहीको समीक्षा गर्दै अध्यक्ष साहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ।
तपाईको प्रतिक्रिया