काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनताको अधिकारलाई थप सुदृढ बनाउन राजनीतिक दलहरूबीच संवाद, सहकार्य र साझा पहलकदमी आवश्यक रहेको बताएका छन्।
जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिँदै अन्सारीले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गरे। उनले समानता, सामाजिक न्याय, समावेशिता र अधिकारसम्पन्न संघीयतालाई प्राथमिक राजनीतिक एजेन्डा बनाउनुपर्ने बताए।
उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रिया नभई विगतको समीक्षा, वर्तमानको मूल्यांकन र भविष्यको राजनीतिक कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए।
“महाधिवेशनले जनमत पार्टीलाई अझ सुदृढ, लोकतान्त्रिक र जनमुखी राजनीतिक शक्तिका रूपमा अगाडि बढाउने नयाँ संकल्प निर्माण गरोस्,” अन्सारीले शुभकामना दिँदै भने।
उनले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित गर्न नहुने बताए। लोकतन्त्रले जनताको सम्मान, समान अधिकार र राज्यमा समान पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, संघीयता प्रदेशको संरचना मात्र नभई जनतालाई अधिकार र निर्णय प्रक्रियाको वास्तविक साझेदार बनाउने प्रणाली भएको उनले बताए।
अन्सारीले मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण हुन नसक्ने बताए।
उनले अहिलेको आवश्यकता सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार र शासन प्रणालीमा समेत परिवर्तन रहेको बताए। सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति, भागबन्डाभन्दा सामाजिक न्याय र भाषणभन्दा परिणाम दिने राजनीतिक संस्कृति आवश्यक रहेको उनको भनाइ थियो।
फरक राजनीतिक धारमा रहेका दलहरूबीच पनि लोकतन्त्र, संघीयता, सामाजिक न्याय र जनताको अधिकारका सवालमा संवाद, सहकार्य र साझा पहलकदमी अघि बढाउनुपर्ने अन्सारीले बताए।
अन्त्यमा उनले जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनले स्पष्ट राजनीतिक दिशा, सुदृढ संगठन, उत्तरदायी नेतृत्व र जनताप्रतिको अझ बलियो प्रतिबद्धता निर्माण गर्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिए।
तपाईको प्रतिक्रिया