यूएईमा मधेशी एकता समाजको चाडपर्व विशेष कार्यक्रम, राहत अभियानको समीक्षा

एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन डा. यादवको जोड

समाचार

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठको पूर्वसन्ध्यामा मधेशी एकता समाज, यूएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

दुबईस्थित जबिल पार्कमा आयोजित कार्यक्रममा समाजका यूएई च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले आगामी चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका छन्।

कार्यक्रमका क्रममा नेपालका रसुवा र नुवाकोट जिल्लामा भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति समाजका पदाधिकारीहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावितप्रति समवेदना प्रकट गरेका थिए।

त्यसैगरी, मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको पहल तथा संयोजनमा तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितका लागि सञ्चालन भइरहेको राहत वितरण अभियानबारे समेत समीक्षा गरिएको थियो।

कार्यक्रममा संस्थालाई आगामी दिनमा थप सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको यूएई च्याप्टरका महासचिव आदित्य कुमार अटलले जानकारी दिए।

समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले संस्थाको उद्देश्य, हालसम्म समाजका विभिन्न व्यक्ति तथा समुदायलाई पुर्‍याउँदै आएको सहयोग र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।

उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। संस्थाले सामाजिक सेवाका क्षेत्रमा अझ व्यवस्थित र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा समाजका यूएई शाखाका पूर्वअध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव तथा संस्थापक सदस्यहरू लालबाबु र तनवीर आलमलगायत पदाधिकारी तथा सदस्यहरूले धारणा राखेका थिए।

यसैबीच, संस्थाको आगामी गतिविधिलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले आदित्य कुमार अटललाई मधेशी एकता समाज, यूएई शाखाको महासचिवको जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरिएको छ।

कार्यक्रममा सहभागीहरूले आगामी दिनमा संस्थालाई अझ संगठित बनाउँदै सामाजिक सेवा, आपसी सहयोग तथा समुदायसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ