कपिलवस्तु । राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चुनौती बढ्दै गएको दाबी गर्दै हिन्दुहरू आफ्नो धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन्।
महाकाल युवा शक्ति नेपालको राष्ट्रिय समितिको वार्षिकोत्सव समारोहलाई तौलिहवामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यादवले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम नगरेसम्म आफ्नो संघर्ष जारी रहने बताएका हुन्।
उनले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चौतर्फी खतरा उत्पन्न भएको दाबी गर्दै धर्म र पहिचानको संरक्षणका लागि एकता आवश्यक रहेको बताए।
कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरीले नेपालको मौलिक संस्कृति र सनातन परम्परा देशको ऐतिहासिक पहिचानसँग जोडिएको बताए। धार्मिक सहिष्णुताको नाममा हुने कुनै पनि प्रकारका अतिक्रमणप्रति राज्य र नागरिक दुवै संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।
महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मनाथ विश्वकर्माले हिन्दु धर्मको संरक्षण, सामाजिक एकता तथा हिन्दु राष्ट्र निर्माणको अभियानलाई निरन्तर अघि बढाउने बताए। उनले देशभरका युवालाई संगठित गर्दै धर्म, संस्कृति र सामाजिक एकताको संरक्षणका लागि अभियान विस्तार गर्ने जानकारी दिए।
लुम्बिनी प्रदेशसभा सदस्य मधुसूदन चौधरीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले सामाजिक सद्भाव कायम राख्दै हिन्दु समुदायका हकहित र सुरक्षाका विषयलाई लोकतान्त्रिक माध्यमबाट उठाउनुपर्ने धारणा राखे।
कार्यक्रममा मधेसवादी नेता रविदत्त मिश्र, मायादेवी गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलगायत धार्मिक, सामाजिक तथा युवा अगुवाहरूको सहभागिता थियो।
समारोहमा सनातन धर्म–संस्कृतिको संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा, सामाजिक सद्भाव तथा हिन्दु राष्ट्रको विषयमा विभिन्न वक्ताले धारणा राखेका थिए। साथै महाकाल युवा शक्तिको आगामी कार्यदिशा, युवा परिचालन र धर्म–संस्कृति संरक्षणका विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया