काठमाडौं । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ ।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेशः अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत मधेश आन्दोलनको समीक्षा विषयक कार्यक्रममा सहभागी वक्ताहरूले मधेशी राजनीतिक दल र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै नयाँ ढंगले राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यबाट हालै राजीनामा दिएका विक्की यादवले मधेशी समाज परिवर्तन भए पनि पुराना राजनीतिक दलले आफ्नो नेतृत्व जोगाउनकै लागि अग्रगामी मोर्चा बनाएको आरोप लगाए । समाजको बदलिँदो आवश्यकता र मागअनुसार आफूलाई परिवर्तन गर्न पुराना दलहरू तयार नभएको उनको भनाइ थियो ।
पत्रकार स्नेहा झाले मधेशले वर्तमान समयअनुसार आफ्ना एजेण्डा तय गर्न नसकेको बताइन् । उनले नयाँ नेतृत्वले बदलिँदो समय र परिस्थितिलाई ध्यानमा राख्दै मधेशका एजेण्डा पुनःनिर्धारण गर्न आवश्यक रहेको धारणा राखिन् ।
मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले ७५ वर्षको राजनीतिक यात्रामा पनि मधेशी राजनीतिले एउटा सशक्त पार्टी निर्माण गर्न नसकेको टिप्पणी गरे । युवा अभियन्ता आभाष गुरुले मधेशका लागि स्वशासनसँगै सुशासन पनि उत्तिकै आवश्यक रहेको बताए ।
संविधानसभा सदस्य विमल केडियाले मधेशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाबारे तथ्यमा आधारित बहस गर्न डाटाबेस तथा अनुसन्धान आवश्यक रहेको उल्लेख गरे ।
जनअधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले मधेशी राजनीतिको कमजोरीलाई स्थानीय उत्पादनको उदाहरणसँग जोड्दै सप्तरीको आँप र बरमझियाको पेडासमेत ब्रान्डिङ गर्न नसक्नु मधेशी राजनीतिको असफलताको एउटा संकेत भएको बताए । मधेशमा आफ्नै उत्पादन, पहिचान र सम्भावना हुँदाहुँदै तिनलाई व्यवस्थित रूपमा ब्रान्डिङ गरी आर्थिक अवसरमा रूपान्तरण गर्न नसकिएको उनको भनाइ थियो ।
जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले मधेशी राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर रहेको टिप्पणी गरे । यही अवस्थाका कारण पुराना मधेशी दलहरू विघटनको संघारमा पुगेको उनको भनाइ थियो ।
मधेशी जनअधिकार फोरमका संस्थापक नेताले पनि मधेशी राजनीतिक दलमा नेतृत्व पुस्तान्तरणको अभावलाई असफलताको प्रमुख कारणका रूपमा औँल्याए । स्थापना कालदेखि नै नेतृत्वमा रहेका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न नचाहनु मधेशी राजनीतिका समस्यामध्ये एक भएको उनको भनाइ थियो ।
प्रतिष्ठानका संरक्षक संजय यादवले पुराना राजनीतिक दल तथा नेताहरूप्रति जनविश्वास कमजोर हुँदै गएको बताए । उनले मधेशमा नयाँ अभियानमार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने आवश्यकता रहेको धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका नेता सन्तोष मेहता, गायक रविराज साह, नेता तथा गायक आभाष लाभ, पत्रकार प्रतिमा चौधरी, उपप्राध्यापक रामबाबु मण्डल, मनिष मण्डल, रमण कर्णलगायत युवा राजनीतिकर्मी तथा अभियन्ताहरूको उपस्थिति थियो ।
प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधेशी अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले गरेका थिए । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त संवाद शृङ्खलामा मधेश आन्दोलनको उपलब्धि, कमजोरी र आगामी राजनीतिक दिशाबारे छलफल गरिएको थियो।
तपाईको प्रतिक्रिया