काठमाडौं, । जनमत पार्टीले पार्टीको राजनीतिक विचार, सिद्धान्त र एजेन्डाबारे जनचेतना फैलाउन ‘जन जन जनमत, मन मन जनमत’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालयको असोज २३ गते काठमाडौंमा बसेको बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष डा. सीके राउतद्वारा जारी सर्कुलरमा राजनीतिक इतिहास, सिद्धान्त, संघर्ष, माग, समस्या र समाधानका विषयमा जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ। साथै, समाजमा भ्रष्टाचार र ठगीमा संलग्न व्यक्तिहरूको प्रभाव बढिरहेको तथा जनतामा भ्रम फैलाउने काम भइरहेको पार्टीको दाबी छ।
अभियानमार्फत जनमत पार्टीलाई जनस्तरमा स्थापित गर्ने र पार्टीका विचार तथा एजेन्डाबारे जनतालाई जानकारी गराउने लक्ष्य राखिएको सर्कुलरमा उल्लेख छ।
यसैगरी, जनमत पार्टीले आगामी मंसिर १० गते आसपास काठमाडौंमा ‘रंगभेदविरुद्ध एकता दिवस’ मनाउने निर्णय गरेको छ। त्यसका लागि वडा–वडामा युवा दस्ता तयार गर्न तथा कार्यक्रमको तयारी र समन्वय गर्न सम्बन्धित पार्टी समितिहरूलाई निर्देशन दिइएको छ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहाका अनुसार पार्टीले आगामी स्थानीय निर्वाचनको तयारीस्वरूप विभिन्न पालिकामा संगठनको अवस्था, सम्भावित उम्मेदवार र स्थानीय एजेन्डाबारे सर्वेक्षणसमेत गरिरहेको छ। केन्द्रीय कार्यकारिणी समितिदेखि जिल्ला तथा पालिका तहका पदाधिकारीलाई सम्भावित उम्मेदवार र स्थानीय एजेन्डाबारे सुझाव तथा सिफारिस पठाउन आग्रह गरिएको छ।
स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै संगठन सक्रिय रहेका जिल्लामा पार्टी कार्यालय सञ्चालन गर्न र सम्भावित उम्मेदवार तथा बलियो संगठन भएका पालिकामा समेत कार्यालय स्थापना गर्न पार्टीले निर्देशन दिएको छ। साथै, तेस्रो स्थानीय अधिवेशनअन्तर्गत वडा तथा पालिका अधिवेशन हुन बाँकी रहेका स्थानमा अधिवेशनलाई निरन्तरता दिन भनिएको छ।
पार्टीले दशैं, तिहार र छठको अवसरमा नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई पालिकास्तरीय शुभकामना कार्यक्रम आयोजना गर्न पनि निर्देशन दिएको छ। त्यस्ता कार्यक्रमअघि वडास्तरमा युवाहरूको सहभागितामा प्रभातफेरी वा सरसफाइ कार्यक्रमसहित मार्चपास आयोजना गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।
जनमत पार्टीले असन्तुष्ट कार्यकर्तासँग संवाद गर्न राष्ट्रिय उपाध्यक्ष राजकुमार त्यागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। पार्टी प्रवेश गर्न चाहने तथा स्थानीय वा प्रदेश निर्वाचनमा सहभागी हुन इच्छुक व्यक्तिहरूसँग संवाद गरी सूची तयार गर्ने जिम्मेवारी राष्ट्रिय सचिव पारसप्रसाद साहलाई दिइएको छ।
त्यस्तै, समाजमा सकारात्मक योगदान पुर्याइरहेका युवालाई छनोट गरी ‘५०० युथ आइकन एन्ड इन्फ्लुएन्सर’ सम्मान कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी राष्ट्रिय सचिव सन्तोष राज साहनीलाई दिइएको छ। पार्टीले पालिकास्तरमा प्रशिक्षण कार्यक्रमलाई समेत निरन्तरता दिने जनाएको छ।
आर्थिक व्यवस्थापनतर्फ पार्टीले केन्द्रीय कार्यकारिणी समितिका सदस्यका लागि वार्षिक न्यूनतम पाँच हजार रुपैयाँ र केन्द्रीय कार्यकारिणी पदाधिकारीका लागि न्यूनतम १० हजार रुपैयाँ लेवी तोकेको छ। उक्त रकम केन्द्रीय कार्यालय सञ्चालनमा खर्च गरिने सर्कुलरमा उल्लेख छ।
यसैगरी, काठमाडौं उपत्यकामा रहेको केन्द्रीय सम्पर्क कार्यालय सबैलाई आवतजावत गर्न सहज हुने स्थानमा सार्ने तथा दीर्घकालीन रूपमा काठमाडौं उपत्यकामा केन्द्रीय सम्पर्क कार्यालय र जनकपुर तथा लुम्बिनीमा प्रादेशिक कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय पार्टीले गरेको छ।
पार्टीले शुभकामना कार्यक्रमपछि पालिकास्तरमा प्रशिक्षणलाई निरन्तरता दिने, संगठन क्रियाशील बनाउने र आगामी निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउनेसमेत जनाएको छ।
तपाईको प्रतिक्रिया