सर्लाही । नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी पुस २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। जिल्ला सचिवालय बैठकले अधिवेशनको तयारीसँगै जिल्लाका सबै स्थानीय तह र वडासम्म संगठन विस्तार गर्ने तथा सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सीताराम शाहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी र पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री एवं मधेश प्रदेशसभा सदस्य बिमला अन्सारीको विशेष उपस्थिति थियो।
बैठकको सञ्चालन जिल्ला सचिव शेख रजी अहमदले गरेका थिए। बैठकमा संघीय समाजवादी महिला संगठनकी अध्यक्ष फातिमा खातुन, पार्टीका केन्द्रीय सदस्य शेख इलियासलगायत जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
बैठकले जिल्ला अधिवेशनअघि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गर्ने, जिल्लाका सबै वडामा वडा कमिटी निर्माण गर्ने र साधारण तथा सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, जिल्ला पार्टी कार्यालयलाई व्यवस्थित बनाउँदै पार्टीका दैनिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।
जिल्ला अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन पुस ३१ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने पनि निर्णय भएको पार्टीले जनाएको छ।
जनताको अधिकार रक्षाका लागि बलियो वैकल्पिक शक्ति आवश्यक : अन्सारी
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मुलुक गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरू संकटमा पर्न सक्ने अवस्था देखिएको बताए।
उनले राजनीतिक उपलब्धिको रक्षा गर्दै उत्पीडित समुदायका थप अधिकार सुनिश्चित गर्न बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।
“नेपालको आर्थिक, जातीय, क्षेत्रीय, लैङ्गिक तथा धार्मिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको सपना साकार पार्न र मुलुकलाई समानताको जगमा उभ्याउन बलियो राजनीतिक संगठन निर्माण गर्नु आजको आवश्यकता हो,” उनले भने।
देशमा विद्यमान शोषण, उत्पीडन, अन्याय, अत्याचार, छुवाछुत र भेदभाव अन्त्यका लागि संगठित राजनीतिक संघर्ष आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष अन्सारीले जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्तालाई संगठन निर्माणमा सक्रियतापूर्वक जुट्न निर्देशन दिँदै जनताको विश्वास जित्ने गरी पार्टीका गतिविधि सञ्चालन गर्न आग्रह गरे। जनताको अधिकार खोस्ने वा मुलुकलाई प्रतिगमनतर्फ लैजाने प्रयास भए त्यसको सशक्त प्रतिवाद गर्नुपर्नेमा पनि उनले जोड दिए।
उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने, सामाजिक न्याय कायम गर्ने र सबै नागरिकलाई समान अवसर उपलब्ध गराउने व्यवस्था निर्माण गर्नु पार्टीको प्रमुख राजनीतिक उद्देश्य रहेको उनले बताए।
सरकारका निर्णयप्रति अन्सारीको असन्तुष्टि
अध्यक्ष अन्सारीले वर्तमान सरकारले राष्ट्रिय हित र जनताको हितविपरीत निर्णय गरिरहेको आरोप लगाउँदै सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरे।
उनले आम नागरिकमाथि अनावश्यक करको भार थपिँदै गएको दाबी गर्दै सरकारका नीति तथा निर्णयले नागरिकलाई आर्थिक दबाबमा पारेको बताए।
सरकारले जनताको आधारभूत आवश्यकता, आर्थिक अवस्था र अधिकारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। उनले राष्ट्रिय हित र जनताको पक्षमा काम गर्न सरकारसँग मागसमेत गरे।
पुस २ गते मलङ्गवामा पार्टी प्रवेश कार्यक्रम
बैठकले संगठन विस्तारलाई गति दिन आगामी पुस २ गते बिहान ११ बजे मलङ्गवा नगरपालिकामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही दिन संघीय समाजवादी महिला संगठनको शपथग्रहण कार्यक्रम र जिल्ला कमिटीको बैठकसमेत आयोजना गरिने जनाइएको छ।
पार्टीले जिल्ला अधिवेशनअघि जिल्लाका सबै स्थानीय तह र वडासम्म संगठन विस्तार गर्ने, सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा नयाँ नेता–कार्यकर्तालाई पार्टीमा आबद्ध गराउने योजना बनाएको छ।
यसैगरी, जिल्लामा देखिएका अन्याय, अत्याचार, प्रशासनिक ढिलासुस्ती र घुसखोरीजस्ता समस्याविरुद्ध आवाज उठाउँदै नागरिकका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको छ।
पार्टीले संगठनलाई जनताको सुखदुःखसँग जोड्दै सुशासन, सामाजिक न्याय र जनअधिकारका सवाललाई राजनीतिक अभियानको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया