फेटा घटनामा दोषीलाई कारबाही गर्न आजपाको माग, घाइतेको निःशुल्क उपचार गर्न आग्रह

समाचार

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घाइते पासवानको तत्काल उच्चस्तरीय उपचारको व्यवस्था गर्न तथा घटनामा घाइते भएका अन्य सबैको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।

अस्पताल उद्घाटनजस्तो सार्वजनिक कार्यक्रममा प्रहरी र नागरिकबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद र गम्भीर विषय भएको कुशवाहाले बताएका छन्। प्रहरीको गोली लागेर नागरिक घाइते हुने घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

उनले घाइते पासवानको उपचारमा कुनै कमी हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

त्यस्तै, घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनाव थप बढ्न नदिन जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न कुशवाहाले आग्रह गरेका छन्। प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न पनि उनले अपिल गरेका छन्।

स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई समेत आपसी सद्भाव कायम राख्दै शान्ति व्यवस्था स्थापित गर्न सहयोग गर्न उनले आग्रह गरेका छन्।

अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार फेटा गाउँपालिका–३ मा दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय आदित्य पासवान घाइते भएका थिए। घटनाका क्रममा तोडफोड र मोटरसाइकलमा आगजनीसमेत भएको थियो।

आजपा मधेश प्रदेश समितिले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग पुनः जोडदार माग गरेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ