प्रदेश ६ : आलोपालो माग बाट पछि हट्यो एमाले

प्रकाश ज्वालाले एमाले मन्त्रीको नेतृत्व गर्ने

समाचार

2/15/2018

सुर्खेत - मुख्यमन्त्री नियुक्ति अघि आलोपालो प्रस्ताव राखेको एमाले पछि हटेसँगै प्रदेश नम्बर ६ मा सरकार गठनको ढोका खुलेको छ । सभामुखको निर्वाचन सकेर मुख्यमन्त्री नियुक्तिको पालो आएसँगै एमालेले माओवादीसँग साढे २ बर्वाको फरकमा मुख्यमन्त्री आलोपालो गर्न प्रस्ताव राखेको थियो ।

तर माओवादीले यो प्रस्ताव अस्वीकार गरेको थियो । केन्द्रमा भएको सहमति अनुसार अगाडि बढ्ने भन्दै एमालेले अहिले यो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर संकलन समेत शूरु गरेको छ ।

फागुन ३ गतेसम्म मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष पत्र पठाउनुपर्ने व्यवस्था रहेको छ ।

पार्टी केन्द्रमा भएको यसअघिको सहमति अनुसार नै अघि बढ्ने भन्दै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर संकलन कार्य अघि बढाएको एमालेका सांसद सुशील थापाले जानकारी दिएका छन् । आज माओवादी र एमालेका सांसदहरुको हस्ताक्षर सहित शाहीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र दिन तयारी थालिएको छ ।

प्रदेश प्रमुखले पत्र पाएपछि मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री नियुक्त भएपछि एमालेबाट मन्त्रीको लिष्ट पाउनेबित्तिकै सानो आकारको मन्त्रीपरिषद बनाउने माओवादीले योजना बनाएको छ ।

प्रकाश ज्वालाले एमाले मन्त्रीको नेतृत्व गर्ने

माओवादीले नेतृत्व गर्ने प्रदेश सरकारमा एमालेबाट प्रकाश ज्वालाले सरकारको नेतृत्व गर्ने भएका छन् । एमाले सांसद थापाका अनुसार संसदीय दलको नेतामा यामलाल कँडेल गएपछि उनले एमालेबाट सरकारमा नेर्तृत्व गर्ने भएका हुन् । प्रदेश संसदमा एमालेको २० सिट छ भने माओवादीको १३ सिट रहेको छ । यस अनुसार एमालेले ४ र माओवादीले ३ मन्त्रालय पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ