ओलीले आज विश्वासको मत लिनेः सरकारका पक्षमा तीन चौथाइ मत

समाचार

3/11/2018

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आईतबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली ले विश्वासको मत लिन लागेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । ओली प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिन पुगेको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओलीलाई माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति विद्या भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी प्रधानमन्त्रीमा नियुक्त हुदा वाम गठबन्धनमा रहेका दुई दल एमाले र माओवादी केन्द्रको समर्थन थियो ।

सरकारका पक्षमा तीन चौथाइ मत

प्रतिनिधिसभामा २ सय ७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १७४ सांसद छन् । त्यसैगरी राष्ट्रिय जनता पार्टीका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।

यी सबै जोड्दा सरकारको पक्षमा २ सय ८ मत पुग्छ । त्यसैगरी राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीबाट चुनाव जितेका एक÷एक सांसद छन् भने स्वतन्त्रबाट एक जना निर्वाचित भएका छन् ।

यीमध्ये वाम गठबन्धनसँग मिलेर चुनाव लडेको जनमोर्चाले सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ भने स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गर्ने सम्भावना छ । योसँगै प्रधानमन्त्री ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाई भन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका जम्मा ६३ जना मात्र सांसद छन् । एक चौथाई मत पु¥याउन कम्तिमा ६९ मत आवश्यक पर्छ । प्रतिपक्षमा एक चौथाईभन्दा कम मत भएमा महाभियोग, अविश्वासको प्रस्तावलगायतका विशेष प्रस्ताव लैजान सक्दैन । यसले ओली नेतृत्वको सरकार निकै शक्तिशाली हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ