आज खग्रास चन्द्रग्रहण लाग्ने, ग्रहणफल सहित हेर्नुहोस् आजको दिन, २०७४ माघ १७ गते

समाचार

1/31/2018

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७४ साल माघ १७ गते बुधबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्ल पूर्णिमा तिथि राति ७।३३ बजेसम्म रहने छ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति तुला राशिमा रहेका छन् । तिष्य नक्षत्र बेलुका ६।२४ बजेसम्म रहने छ । यसैगरी आज प्रीति योग, भद्रा करण रहेको छ । आज सूर्योदय ६।५३ मा छ भने सूर्यास्त ५।४२ मा हुने छ ।

आज बेलुका खग्रास चन्द्रग्रहण लाग्ने छ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णिमा मात्र लाग्ने गर्दछ । चन्द्रममा आफ्नो प्रकाश छैन । सूर्यको प्रकाशले नै चन्द्रमा उज्यालो भएको हो । प्रकाश परावर्तन गर्ने शक्ति चन्द्रमामा भएकाले सूर्यको प्रकाश पर्दा त्यसको परावर्तित किरण पुनः पृथ्वीसम्म आउने गर्दछ । औंशीमा चन्द्रमा र सूर्य एउटै राशि अर्थात् चन्द्रमामाथि सूर्य हुने भएकाले चन्द्रमाको उज्याले देख्न सकिदैन । अर्थात् रात अध्यारो हुन्छ । पूर्णिमामा चन्द्रमा र सूर्यको अन्तर ६ राशि अर्थात् १८० डिग्रीको हुने गर्दछ । यस्तो अवस्थामा सूर्यको पूर्ण प्रकाश चन्द्रमामा परी जुनेली रात हुने गर्दछ । यही पूर्णिमामा पृथ्वीको छायामा चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्र ग्रहण लाग्ने गर्दछ ।
चन्द्रग्रण दुई प्रकारका हुन्छन् । १) पूर्ण चन्द्रग्रहण र २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्दा पूर्णग्रास चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भाग मात्र पृथ्वीको छाँयामा पर्छ भने खण्डग्रस चन्द्र ग्रहण लाग्ने गर्दछ ।

आज अर्थात् २०७४ माघ १७ गते (तदनुसार ३१ जनवरी २०१८) बुधबाार बेलुका खग्रास चन्द्रग्रहण लाग्ने छ । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ । पृथ्वीको छाँयाभित्र चन्द्रमाको सम्पूर्ण भाग प्रवेश गर्ने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छाँयामा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ ।
माघ १७ गते बुधबारको चन्द्रग्रहण काठमाडौँमा बेलुका ५।३२ बजे पूर्व दिशामा स्पर्श हुन्छ । यसरी ५।३२ मा ग्रहण स्पर्श भएपनि बेलुकी ५।५५ पछि हाम्रो क्षितिजमा चन्द्रमा उदाउने भएकाले सो पश्चात् मात्र ग्रहण देख्न सकिन्छ । यसैगरी रातिको ७।१६ बजे खग्रास चन्द्रग्रहणको मध्य अवस्था हुन्छ ।

पृथ्वीको छायाभित्र चन्द्रमा बेलुका ६।३६ बजे पूर्ण प्रवेश गर्दछ अर्थात् सम्मीलन हुन्छ भने बेलुका ७।५३ बजेदेखि पृथ्वीको छायाबाट बाहिर निष्कन शुरु अर्थात् उन्नमीलन भई राति ८ बजेर ५७ मिनेट जाँदा पश्चिममा मोक्ष हुन्छ अर्थात् चन्द्रग्रहण सकिन्छ । यसरी समग्रमा ३ घण्टा २ मिनेट चन्द्रग्रहण रहने गर्दछ जसलाई सर्वपर्वकाल भनिन्छ । यो समय काठमाडौँको हो । अन्यस्थानमा समयको अन्तर रहने गर्दछ ।

यो चन्द्रग्रहण अष्ट्रेलिया, एशियाको पूर्वी भाग तथा क्यानाडाको पश्चिम उत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिन्छ । यसैगरी पश्चिम एशियामा ग्रस्तोदय र उत्तर अमेरिकामा ग्रस्तास्त देखिन्छ । पश्चिम यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने यो चन्द्रग्रहण देखिदैन ।

कुन राशिले ग्रहण हेर्दा के फल ?
यो चन्द्रग्रहणमा कुन राशिले हेरे के फल निम्नानुसार बताईएको छः

मेषः व्यथा वृषः श्रीप्राप्तिमिथुनः क्षतिकर्कटः घातसिंहः व्यय, कन्याः लाभतुलाः सुखवृश्चिकः माननाशधनुःकष्टमकरः स्त्रीपीडाकुम्भः सौख्य छ भने मीनः चिन्ता फल मिल्ने छ ।

 

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ