काठमाडौं - सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले सरकारी गाडी दुरुपयोगको धेरै गुनासो आएको भन्दै अनुमति नलिइ विदाको दिन गाडी नचलाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति मार्फत विदाको दिन सरकारी गाडी चलाउनु परेमा प्रयोजन र प्रयोग गर्ने व्यक्तिको नाम, पद र सम्पर्क नम्बर खुलाएर पास बनाउनुपर्ने जनाएको छ ।
‘सार्वजनिक विदाको दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोगमा ल्याउनुपर्ने भएमा स्पष्ट प्रयोजन, प्रयोग गर्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर खुलाइएको एवं सवारी पास उपलब्ध गराउने अधिकार प्राप्त निकाय तथा पदाधिकारीको स्वीकृति लिई मात्र प्रयोग गर्नुहुन सबै सरकारी निकायहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सवारी साधन दुरुपयोगको जानकारी गराउन टेलिफोन नम्बर सार्वजनिक गर्दै गृहले दुरुपयोग रोक्ने अभियानमा साथ दिन पनि आग्रह गरेको छ । गाडी दुरुपयोग गरेको पाइए ०१ ४२११२१४ र ०१ ४२११२०८ मा टेलिफोनमार्फत उजुरी गर्न सकिने मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया