जनकपुरधाम, २१ भाद्र । जनकपुरधामसहित वरिपरीका यात्रुलाई अब भारत विहार राज्यको राजधानी पटना पुग्न सहज हुने भएको छ । भारतको पटना पुग्न जनकपुरधामबाट सोझै बस सेवा सञ्चालन हुने भएकोले यात्रुहरूलाई सहज हुने भएको हो ।
दुई देशबीच भएको सम्झौता अनुसार भदौ ३१ गतेबाट जनकपुर–पटनाबीच सीधा बससेवा सञ्चालन हुन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएको बेला जनकपुर–पटना बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
र, पछिल्लो पटक बिमस्टेक सम्मेलनमा सहभागी हुन पुनः नेपाल पुगेका उनले उक्त घोषणा कार्यान्वयन गर्न सम्झौता गरेका छन् । सम्झौताअनुसार भदौ २८ गते विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाइ जनकपुरको लागि बसलाई विदा गर्नेछन् ।
त्यसैगरी भदौ ३१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट पटनाको लागि बस सञ्चालन गर्न हरियो झण्डा देखाउने कार्यक्रम रहेको छ । दुई मुलुकबीच चारवटा बस सञ्चालन गर्ने सम्झौता रहे पनि तत्काल दैनिक १÷१ बस सञ्चालन हुनेछ ।
जनकपुरबाट करिब २ सय ७ किलोमिटर दुरी रहेको पटनासम्म बस सञ्चालन गर्न नेपालतर्फबाट काठमाण्डौस्थित स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि. र भारतबाट विहार सरकारको विहार पारवहनले जिम्मा पाएको छ ।
जनकपुरबाट छुट्ने बस महोत्तरीको भिठ्ठामोड नाका हुँदै विहारको सीतामढी, मुजफ्फरपुरबाट पटनासम्म पुग्ने छ । दुई स्थानबीचको यात्रा समय करिब ७ घण्टा रहने अनुमान गरिएको छ ।
जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे समय प्रस्ताव गरिएको छ । यसैगरी काठमाण्डौ र विहारको बोधगयासम्म पनि बस सेवा सञ्चालन हुन लागेको छ । काठमाण्डौबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगयासम्म पुग्ने छ ।
तपाईको प्रतिक्रिया