काठमाडौँ – कोशी अञ्चल अस्पतालमा चिकित्सक र कर्मचारी अभावका कारण अस्तव्यस्त बनेको छ । चिकित्सक र कर्मचारी नियमित अस्पतालमा नबस्दा उपचारका लागि आउने बिरामी मर्कामा परेका छन् ।
दरबन्दीका चिकित्सक र कर्मचारी अधिकांश समय आफ्नै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेकाले कोशी अञ्चल अस्पतालमा अस्तव्यस्त बनेको हो । अस्पतालमा चिकित्सक र कर्मचारी नबस्ने गरेको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनका क्रममा एकै दिन ३ सय बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रशासनले जनाएको छ ।
विशेषज्ञ चिकित्सक देखि तल्लो स्तरका कर्मचारीहरु अनुपस्थित रहेको अनुगमनका क्रममा फेला परेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो । अस्पताल प्रशासनको मिलेमतोमा चिकित्सक र कर्मचारीहरु पालैपालो अनुपस्थित रहने गरेको अस्पताल स्रोतले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यले पहिलेदेखि नै अस्पतालका चिकित्सक र कर्मचारीलाई सचेत गराउँदै आएपनि अटेरी गर्दै आएकोले अनुगमन गर्न बाध्य भएको बताउनुभयो । अनुगमनका क्रममा अस्पतालमा चिकित्सक र कर्मचारी अनुपस्थित हुने गरेको भेटिएकाले यस विषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ‘यहाँका कतिपय चिकित्सकहरुको आफ्नै निजी अस्पताल छ भने क्लिनिक सबैको छ’ उनीहरु आ–आफ्नो अस्पताल र क्लिनिकमा व्यस्त रहने गरेको अस्पतालमा उपचारका लागि आउने बिरामी मर्कामा परेको स्थानीय अरबिन्द मण्डलले गुनासो पोखे ।
चिकित्सकहरु अस्पताल अगाडि नै निजी क्लिनिक खोलेर बिहान देखि बेलुकासम्म त्यही व्यस्त रहने गरेको उनको आरोप छ । केही चिकित्सकहरुले आफ्नो निजी अस्पताल सञ्चालन गरेर बसेको र कोशी अञ्चल अस्पतालमा आउने बिरामीलाई आ–आफ्नो निजी अस्पतालमा लगेर उपचार गर्दै आएको उनले सुनाए ।
यी सबै भइरहदा पनि सरोकारवाला निकाय मौन वस्नुको पछाडि रकमको चलखेल नै प्रमुख कारण भएको उनले गुनासो पोखे । जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत नवराज कार्कीको नेतृत्वमा फागुन २७ गते बिहान १०:३० बजे अस्पतालको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा अस्पतालको विद्युतीय हाजिरीको अभिलेख र विभिन्न वार्डको हाजिरी रजिष्टरको रेकर्ड लिएर अनुगमन गरिएको थियो । प्रशासकीय अधिकृत कार्कीका अनुसार हाजिरीको अभिलेख हेर्न केही समय लाग्यो तर त्यसमा त उकै दिन तीन सय कर्मचारी अनुपस्थित रहेको अवस्थाले अस्पतालको अवस्था झल्किन्छ । सात महिना देखि चिकित्सक र कर्मचारीले हाजिरी नगरेको समेत पाइएको उहाँले जानकारी दिनुभयो ।
प्रजिअ आचार्यले भन्नुभयो, ‘अस्पतालमा चिकित्सक र कर्मचारी अनुपस्थित हुँदै आएको अनुगमनका क्रममा भेटेकोले यसको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ, ‘यसका लागि पहिलो चरणमा स्पष्टिकरण सोध्ने काम भएको छ ।’ एक दुई दिन अनुपस्थित हुनेलाई सत्यतथ्य बुझेर अस्पताल प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको र एक सातादेखि अनुपस्थित हुनेहरुलाई जिल्ला प्रशासन कार्यालयमा नै आएर लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको उहाँलले बताउनुभयो ।
अनुसन्धान प्रक्रिया पूरा भएपछि सत्यतथ्य बाहिर आउने र त्यसपछि थप कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । कोशी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ट डा. रोशन पोख्रेलले अस्पतालमा ५ सय जति चिकित्सक र कर्मचारी कार्यरत रहेकोमध्ये केहीको बिहान, केहीको दिउँसो र केहीको राती ड्युटी रहने गरेकोले सबैको हाजिरी नभेटेको बताउनुभयो । अनुगमन टोली ११ बजेतिर आएकोले सबैको हाजिरी नभेट्नु स्वभाविक भएको उहाँको भनाई छ ।
कान्तिपुरमा प्रकाशित समाचार
तपाईको प्रतिक्रिया