काठमाडौं - एमाले र माओवादीबीचको एकता प्रक्रिया बुधबार बेलुकासम्म टुंगो लाग्ने भएको छ । एकता प्याकेजलाई टुंगो लगाएर दुवै दलले बहुमतको सरकार बनाउन बुधबार नै राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी छ।
लगभग अन्तिम चरणमा पुगेको पार्टी एकता प्रकियालाई फाइनल टच दिनका लागि एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार र मंगलबार निर्णायक वार्ता भइसकेको छ । नेतृत्वलगायतका धेरै विषयमा दुई अध्यक्षबीच समझदारी बनेको छ। संयोजन समितिको आज बस्ने बैठकले त्यसलाई लिपिवद्ध गरेर एउटा दस्तावेज तयार गर्नेछ। संयोजन समितिको बैठकअघि दुवै दलको अहिले आन्तरिक बैठक बसिरहेको छ। त्यसपछि संयोजन समिति बस्ने बताइएको छ।
एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
एकीकृत पार्टीलाई संयुक्त रुपमा नेतृत्व प्रदान गर्ने र त्यसका लागि दुवैजना अध्यक्ष वा सहअध्यक्ष हुने मोडलसहितको एकताको खाका तयार भएको छ। त्यसैगरी सरकारको नेतृत्व पनि ओलीले गर्ने र केही समय प्रचण्डलाई मौका दिने समझदारी बनेको छ। एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने लगायतका पक्षमा पनि सहमति भइसको छ। दुवैतर्फका वरिष्ठ नेताहरुको सम्मानजनक व्यवस्थापनका लागि अलग्गै संयन्त्र बनाइने भएको छ।
सोमबार दुई अध्यक्षबीच बनेको समझदारमा थप गृहकार्य गरी संभवत: मंगलबार नै एकताको प्याकेजलाई अन्तिम रुप दिने पहल भइरहेको छ। त्यसका लागि दुवैतिरबाट कार्यदल खटिएको छ। निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने भएकोले एकता प्रकियालाई छिटो टुंग्याउन लागिएको हो।
तपाईको प्रतिक्रिया