डुंगा दुर्घटनामा पप्पु कन्स्ट्रक्सन दोषी छैन : निर्देशक रौनियार

समाचार

9/16/2018

काठमाडौं, १६ भाद्र । पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले गत शनिबार रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनामा पप्पु कन्स्ट्रक्सनको कुनै दोष नरहेको स्पष्ट पारेका छन् ।

निर्देशक रौनियारले डुंगा दुर्घटनामा कारण कन्स्ट्रक्सन नभई कुहिएको डुंगामा ४० भन्दा बढी सवार हुनु र सुरक्षाको उपाय नअपनाउनु मुख्य कारण रहेको दाबी गरेका छन् । उनले यसभन्दा पहिला पनि चार/पाँच पटक यसप्रकारका दुर्घटनाहरु भइसकेको बताएका छन् । सरकारले अनुमति नदिँदा पनि कुहिएको डुंगा चलाउँदा दुर्घटना हुने गरेको बताएका छन् ।

मधेशवाणीसँग कुराकानी गर्दै रौनियारले भने, ‘पुल निर्माण कार्य ढिलाई हुनु र डुंगा दुर्घटना हुनु फरक–फरक विषय हो ।’ उनले पुल निर्माण ढिलाईकै कारण डुंगा दुर्घटना भएको भन्नु सरासर गलत रहेको बताएका छन् ।

पुल निर्माण कार्य समयमै किन सम्पन्न भएन भन्ने प्रश्नको जवाफमा अध्यक्ष रौनियार भन्छन्, ‘सरकारले पुल निर्माणका लागि ठेक्का आह्वान गर्छन् तर त्यसमा लाग्ने बजेट समयमा आउँदैन । हामीले जानी जानी निर्माणमा ढिलाई गरेका होइनौं, बजेट अभावका कारण ढिलाई भएको हो ।’

राजनीतिक प्रतिशोध साँध्नका लागि पप्पु कन्स्ट्रक्सनका पूर्वनिर्देशक तथा सांसद् हरिनारायण प्रसाद रौनियारलाई बदनाम गर्ने उद्देश्यले विपक्षीहरुले यस्तो गलत कुराहरु प्रचार गराइरहेको निर्देशक सुमित रौनियारले आरोप लगाएका छन् ।

उनले भने, ‘पप्पु कन्स्ट्रक्सनबाट एक वर्ष पहिला नै सांसद् हरिनारायण प्रसाद रौनियारले राजीनामा दिइसक्नुभएको छ । अहिले उहाँ यस कम्पनीमा कुनै किसिमबाट संलग्न हुनुहुन्न । तर, उहाँको लोकप्रियतालाई देख्न नसकेर विपक्षीहरुले जहिले पनि कम्पनीसँग नाम जोडेर उहाँको छवि बिगार्न लागेका छन् ।’

उनी भन्छन्, ‘जुन ठेक्का हामीले गरेकै छैन त्यस्ता ठेक्काहरूबारे भ्रामक समाचारहरू षड्यन्त्रपूर्ण तरिकाले ल्याइँदैछ । कहीं कुनै पुल बनाएको छ र त्यो भत्केको छ भने त्यो पप्पु कन्स्ट्रक्सनले नै बनाएको भन्ने कुराहरू आउँदैछ । जुन निर्माणमा हाम्रो कुनै संलग्नता नै छैन, त्यस्ता विषयमा मेरो नाम मुछिएर बदनाम गर्न खोजिँदैछ ।’

नेपालमा अहिले १५ सय जति पुल निर्माण कार्य भइरहेको छ । त्यसको लागत ६३ अर्ब रूपैयाँ हो र राज्यले प्रतिवर्ष जम्मा तीन अर्ब बजेट विनियोजन गर्छ । बजेटको अनुपातमा हेर्दा त यी सबै पुलहरू बनाउन करिब २१ वर्ष लाग्न सक्छ । 

‘म मिडियाका साथीहरूसँग आग्रह गर्न चाहन्छु कि सरकारसँग किन सोध्दैन कि ५० करोडको पुलको ठेक्कदा गर्दा वर्षको मात्र दुई करोड विनियोजन गर्दा तीन वर्षमा निर्माण कार्य सकिन्छ त ? ५० करोडको पुल तीन वर्षमा बनाउन त वर्षमा करिब १५ देखि २० करोड रूपैयाँ बजेट त रातो किताबमा राख्नुपर्छ नि । अरू केही प्रमाण खोज्नुपर्दैन ।’ उनी भन्छन्, ‘यदि कुनै परियोजना ठेक्का लागेको छ भने त्यसको ठेक्का अवधि कहिले हो, समाप्त गर्ने कहिले हो र त्यसको बजेट रातो किताबमा कति छ हेर्दा सबै छर्लङ्ग हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ