निर्वाचित भएको तीन महिना पछि शपथ लिदैँ सांसदहरु, ४ जना शपथबाट बञ्चित

समाचार

3/4/2018

काठमाडौं -  निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले आइतबार शपथ लिँदैछन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुनेछ ।

प्रतिनिधि सभाका सदस्यले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रिय सभाका सदस्यले राष्ट्रिय सभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

संसद् सचिवालयका प्रवक्ता गौतमका अनुसार शपथ र पहिलो बैठकका लागि सबै तयारी पूरा भएको छ। शपथको भोलिपल्ट फागुन २१ मा संसदको पहिलो बैठक बस्दै छ । सोमबार अपराहन ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अलग–अलग बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने सम्भावना छ । सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथग्रहण आइतबार हुने छैन ।

अघिल्लो सरकारबाट सिफारिस व्यक्तिलाई मनोनीत नगरी नयाँ सरकारले सिफारिस गरेकालाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेपछि उक्त विषय अदालत पुगेको हो । अदालतले तत्काललाई उनीहरूको शपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी पनि शपथमा आउने छैनन् । जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभाका समानुपातिकतर्फको अन्तिम परिणाम प्राप्त हुने संवैधानिक प्रावधानका कारण सांसदको संसद् भवन प्रवेशमा ढिलाइ भएको हो ।

४४ जनाले मातृभाषामा शपथ लिने

प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा ६ जनाले मातृभाषामा सपथ ग्रहण गर्ने सचिवालयले जनाएको छ । भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन ४४ जना सांसदले लिखित जानकारी गराएको संसद् सचिवालयका प्रवक्ता गौतमले बताए । सपथ ग्रहणका लागि दौरा सुरुवाल, सारी चोलो वा आफ्नो पहिचान झल्काउने जातीय भेषभुषा लगाउन सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ