काठमाडौँ : न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।
राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउँछन्। “धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,”– उनले भने।
दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको अनुभव सुनाउँछन्। “तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? उनी प्रश्न गर्छन्।
यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउँछन्।। “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,”– मरासिनी भन्छन्।
एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब रु १७ हजार २३०का साथै रू एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।
ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।
गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन ।
तपाईको प्रतिक्रिया