अन्योलमा राजपा : न महाधिवेशन न एकता

तोकिएको मितिमा महाधिवेशन नहुने पक्का, अनौपचारिकतामै सीमित एकता, नेतृत्वबीच विवाद

राजनीति

11/1/2019

मधेशवाणी डेस्क
काठमाडौं । मधेशका ६ वटा दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन यसपटक पनि नहुने निश्चित भइसकेको छ । करिब ९ महिना अगाडि नै एकताको महाधिवेशन गर्ने घोषणा गरेपनि खासै तयारी नपुगेपछि पुनः महाधिवेशनको मिति सार्ने तयारीमा राजपा नेपाल रहेको छ । महाधिवेशन हुने वा नहुनेमा नेता कार्यकर्ताहरू अझैसम्म अन्योलमै छन् । आगामी २८–३० गतेसम्म तोकिएको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वमै विवाद कायम रहेको शीर्ष नेताहरू बताउँछन् ।

राजपा नेपालका सहअध्यक्षसमेत रहेका लक्ष्मण लाल कर्णले पार्टीभित्र आन्तरिक द्वन्द्व रहेको स्वीकारेका छन् । उनले भने, ‘त्यसको समाधान गर्नुपर्छ । साथै महाधिवेशन गर्नुपर्छ ।’ उनले नेतृत्वबीच द्वन्द्व रहेको जिकिर गरेका छन् । ‘ पार्टीभित्र नेतृत्वबीच केही विवाद देखिरहेको छ । व्यक्तिगत द्वन्द्वले पार्टीमा केही फाइदा गर्दैन ।’ उनले भने ।

राजपाको महाधिवेशनबारे अध्यक्षमण्डलले विभिन्न निर्णयहरू गरेका प्रवक्ता डा.डिम्पल कुमार झा बताउँछिन् । उनले राजपा नेपाल महाधिवेशन केन्द्रित नै दाबी गरेकी छन् । गाउँ, जिल्ला, क्षेत्रीय अधिवेशन गराउनका लागि निर्देशन जारी गरिसकिएको छ । महाधिवेशनकै तयारी स्वरूप यस्तो निर्देशन गरिएको हो । यहीं बीचमा उचनिर्वाचन पनि हुँदैछ, त्यसमा पनि हामी केन्द्रित हुनुपर्ने अवस्था छ । राजपा महाधिवेशनको प्रक्रियामा लागेको छ ।

‘तोकिएकै मितिमा राजपाको महाधिवेशन सम्भव देखिएन’ प्रवक्ता झा भन्छिन्, अहिले केही प्रक्रियाहरू बाँकी छ । प्रक्रिया पूरा नगरिकन महाधिवेशन हुन सक्दैन ।’ उपनिर्वाचनपश्चात् महाधिवेशन हुने मधेशवाणीलाई उनले बताइन् । राजपा नेपालको अध्यक्षमण्डलको बैठक आगामी १९ पुनः बोलाइएको छ । सो बैठकले यसको टुंगो लगाउने उनको दाबी छ ।

तदर्थ समिति गठन गर्न निर्देशिका
राजपा नेपालको महाधिवेशन तयारीस्वरूप जिल्लाहरूमा तदर्थ समिति गठन गर्न निर्देशिका जारी गरिएको छ । गत कार्तिक ८ गते शुक्रबार राजपा नेपालको अध्यक्षमण्डलको बैठकले जिल्ला अध्यक्षमण्डलहरूलाई २१ बुँदे निर्देशिका जारी गरेको हो । यस निर्देशिका बमोजिम वडा देखि जिल्ला स्तरसम्मका पार्टी समितिहरू सम्मेलन गरि गठन गरिने, साथै यथासम्भव वर्गीय संगठनहरूको तदर्थ समिति गठन गरिने जनाइएको छ । तदर्थ समितिहरू निर्माण गर्न वडा सम्मेलन, ालिका सम्मेलन, क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन गरिनेछ ।

हरेक तहको सम्मेलनबाट पार्टीको सम्बन्धित तदर्थ समितिहरू तथा आवश्यक र उपयुक्त वर्गीय संगठनहरूको तदर्थ समितिहरू गठन गरिनेछ । प्रत्येक तहको तदर्थ समिति गठन गर्दा यथासम्भव समावेशीताको आधारमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसैगरी, प्रत्येक तहको सम्मेलन गर्दा त्यस तहबाट पार्टीमा रहेको सबै स्तरका नेता तथा कार्यकर्ता सम्बन्धित सम्मेलनमा सम्मेलनको सदस्य नरहे पनि पर्यवेक्षकको रूपमा सहभागी हुन सक्नेछन् । वर्गीय संगठनको हकमा सबै तहमा यथा सम्भव तदर्थ समितिहरू गठन गर्न सकिनेछ ।

सम्मेलनको लागि केन्द्रबाट प्रत्येक जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाइनेछ तथा पर्यवेक्षकहरूले जिल्ला भरिको सम्मेलनको रेखदेख गर्ने, क्षेत्रिय सम्मेलनको केन्द्र तोक्ने र जिल्ला भरिको रेकर्ड केन्द्रमा बुझाउनुपर्नेछ । सम्मेलन गर्दा गत स्थानीय निर्वाचनमा पार्टीको तर्फ बाट वडा, पालिका र संसदीय निर्वाचन क्षेत्रहरूका उम्मेदवारहरूले सम्मेलनको अध्यक्षता गर्ने र पार्टीका उक्त निकायहरूमा उम्मेदवार नरहेको अवस्थामा वा चुनावमा भाग नलिएको अवस्थामा त्यहाँ उपस्थित पार्टीका सबै भन्दा बरिष्ठ पदाधिकारी वा सदस्यले अध्यक्षता गर्नेछ तर पालिकाको हकमा हाल प्रमुखको उम्मेदवार नरहेको अवस्थामा उप–प्रमुखले अध्यक्षता गर्नेछ र त्यहाँ गठन भएका सबै तदर्थ समितिहरूको रेकर्ड अध्यक्षता गर्ने नेताले केन्द्रिय पर्यवेक्षकलाई बुझाउनुपर्नेछ ।

सम्मेलन स्थलको लागि वडाको हकमा वडाको केन्द्रमा, पालिकाको हकमा पालिकाको केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभाको संयुक्त क्षेत्रीय सम्मेलनको हकमा जिल्ला तयारी बैठकको सल्लाहमा केन्द्रिय पर्यवेक्षकले तोकेको स्थानहरूमा र जिल्लाको हकमा जिल्ला सदर मुकाममा सम्मेलनहरू हुनेछ । सम्मेलन गर्दा उपस्थित सबै सहभागीहरूको फोन नम्बर सहितको उपस्थिति बनाउने र सो रेकर्ड पनि केन्द्रिय पर्यवेक्षक मार्फत केन्द्रमा बुझाउनुपर्नेछ ।

सम्मेलनको कार्यक्रमबारे स्थानीय संचार माध्यम, पर्चा, पम्प्लेट तथा टेलिफोन समेतको माध्यमबाट विभिन्न तयारी बैठक समेत गरी सबै कार्यक्रमहरूको सम्बन्धमा व्यापक रूपमा प्रचार प्रसार गरिनेछ । कुनै पनि विषयमा उपस्थित सदस्यहरूको सर्वसम्मती हुन नसके बहुमत सदस्यहरूको बिचारबाट निर्णय गरिनेछ ।

सम्मेलनको घोषित मिति परिवर्तन हुने छैनासाथै कुनै पनि नेताको अनुपस्थितिको कारणले सम्मेलन स्थगित हुने छैन । सम्मेलनमा पार्टीका सबै नेता, कार्यकर्ताहरू आ–आफ्ना वडामा तथा यस निर्देशिकाले निर्धारण गरे अनुसार पालिका, क्षेत्रीय तथा जिल्ला सम्मेलनहरूमा अनिर्वाय रूपमा सहभागी हुनुपर्नेछ । सम्मेलनमा कसैले कुनै निणर्य वा विषयमा असहमति गरेमा वा सुझाव दिन चाहेमा लिखित रूपमा दिन सक्नेछन् ।
यसैगरी, सम्मेलन तयारी बैठक ः जिल्लाहरूमा जिल्ला भरीका सबै नेता कार्यकर्ताहरूको विस्तारित बैठक कार्तिक १९ गतेको दिन जिल्ला अध्यक्ष मण्डलद्वारा अनिवार्य रूपमा आयोजना गरी तदर्थ समिति गठन हेतु वार्ड सम्मेलनदेखि जिल्ला सम्मेलनसम्मको कार्यक्रमबारे व्यापक रूपमा प्रचार गरी गराई सम्मेलनहरू सम्पन्न गराउन सम्मेलन तयारी बैठकको आयोजना गरिनेछ । 

अनौपचारिकतामै सीमित एकता
राजपा र समाजवादी पार्टीबीचको बहुचर्चित एकीकरण अहिलेसम्म पनि औपचारिकता पाउन सकेको छैन । दुवै पार्टीका वार्ता टोलीले अहिलेसम्म औपचारिकरूपमा वार्ता प्रक्रिया अगाडि बढाउन सकेको छैन । राजपाका वार्ता टोली संयोजक राजेन्द्र महतोले आफूहरू एकता नजिक रहेको सार्वजनिकरूपमा प्रतिक्रिया दिँदै आएका छन् । तर अन्य पदाधिकारीहरू वार्ता प्रक्रियाबारे अहिलेसम्म अनभिज्ञ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ