रौतहट, १६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय अध्यक्षमण्डलका सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अनिल कुमार झाले आफू विकासवादी नेता नभई अधिकारवादी मधेशवादी नेता भएको बताएका छन् ।
रौतहट जिल्लाको सदारमुकाम गौरमा आइतबार आयोजित धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौर ८ को छैठो वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै पूर्वमन्त्री झाले मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजाति पिछडिएको वर्ग जात लिंग धर्म भाषा, प्रदेशको स्वायत्तताको ग्यारेन्टी नभएसम्म अधिकार बाहेक विकासको परिकल्पना गर्न नसक्ने जिकिर गरे । अधिकार विना विकास मन नपर्ने उनले बताए ।
पूर्वमन्त्री झाले रेशम चौधरीलाई जेलमा राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हालतमा राजपाले स्वीकार्य नगर्ने उल्लेख गरे । मधेशमा बाटोको कुरो गर्नु प्रधानमंत्री जी भन्नु हुन्छ तर हामी बाटो हैन अधिकार दिनु भन्दै आएको भने अधिकार विना स्वर्ग अधुरो छ ।
राजपाले उठाएको ५ बटा माग सम्बोधन नगरेसम्म संघर्ष जारी रहने चेतावनी दिए ।
पहिलो माग मधेश आन्दोलनको सम्बोधन, दोस्रो शहीदको सम्मान हुनु पर्ने, तेस्रो मधेश आन्दोलनको विषयमा लिएर मधेशी नेता कार्यकर्तामाथि लगाइएको झूठा मुद्दा फिर्ता हुनुपर्ने, चौथो नागरिकताविहीनलाई नागरिकता दिनुपर्ने र पाँचौ हिन्दी, भोजपुरी, बज्जिका, मैथिली, उर्दू, भाषालाई काठमाडौंमा बोलिने नेपाली भाषा जस्तो मान्यता, प्रदेश सरकारको स्वायत्तता नभएसम्म विकासको कुरो नहुने अड़ान दोहोर्याए ।
सांसद झाले आफ्नो मागप्रति अडिग भएको दावी गरे । निर्वाचन क्षेत्र विकासका लागि ४ करोड़को योजना सिफारिस गर्ने अधिकार भएकोले सोही अनुसारको योजना कार्यान्वयन अवस्थामा रहेको बताए ।
गौर–चन्द्रनिगाहपुर सड़कलाई चार लेन बनाउने योजना स्वीकृत भइसकेको जानकारी गराए ।
सांसद झाले निजगढदेखि गौर हुँदै भारतको मुज्जफरपुरसम्म जोडिने बाटो बनाउने लक्ष्य रहेको भारतमा निर्वाचन भएकोले भारतीय नेताहरुसँगको छलफल हुन नसकेको बताए । निर्वाचन पछि नेपाल र भारतका नेताहरुको सेमिनार आयोजना गरी यो विषयमा छलफल गर्ने सुनाए ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री डिम्पल झाले सहकारी सस्थाले आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले इजाजत प्राप्त गरेका सहकारी संघ संस्थाहरुले शेयरधनीहरुलाई समय समयमा आयव्ययको जानकारी गराउनु पर्ने जोड़ दिए ।
गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले सहकारीले बचतको साथसाथै कर्जा प्रवाह गरी बेरोजगारी समस्या समाधान तथा आर्थिक समस्याको सवालमा सर्वसाधारणलाई सहयोग पुर्याएको बताए । उनले सहकारी सस्थाले आर्थिक विकासको साथसाथै सामाजिक विकासमा जोड़ दिनु पर्ने आग्रह गरे ।
मेयर गुप्ताले शिक्षा, स्वास्थ्यको विकासमा सहयोग गर्नु पर्ने धारणा राखे ।
वार्षिक साधारण सभामा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम एकवाल राय यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, राजपाका सह महासचिव अनिल कुमार सिंह लगायतका वक्ताहरुले आआफ्नो शुभकमना मन्तव्य व्यक्त गरेका थिए ।
मनोज गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्थाका कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।
तपाईको प्रतिक्रिया