अनिश्चितकालका लागि प्रदेशसभा अवरुद्ध गर्ने प्रतिपक्षीहरुको चेतावनी

राजनीति

11/12/2019

जनकपुरधाम, २६ कार्तिक । झण्डै दुई महिनापछि बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा विपक्षी सांसदहरुले सरकारलाई अगामी बैठकदेखि अनिश्चितकालिन अवरुद्धको चेतावनी दिएका छन् ।

विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सचेतक सुन्दरबहादुर विश्वकर्माले सरकार गत वर्षमा सम्पन्न भएको योजनाको हालसम्म भुक्तानी नगरेको भन्दै आक्रोश पोखे ।

उनले भुक्तानीका लागि सम्पन्न योजनाको अनुगमन गर्न संसदीय समिति गठन भएपनि दुई महिना बितिसक्दा पनि भुक्तानी गर्ने छाँटकाट नदेखिएको गुनासो गरे ।

सांसद विश्वकर्माले गत आर्थिक वर्षको अन्तिममा विकास निर्माणको काम सुरु गर्दा ठूलो रकम फ्रिज भएको भन्दै यस आर्थिक वर्षमा छिटोभन्दा छिटो नयाँ कार्यविधी बनाएर विकास निर्माणको काम थालनी गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले अहिले विकास निर्माण गर्ने समय रहेको भन्दै तत्कालै कार्यविधि बनाएर काम सुरु गरेमात्र परिणाम राम्रो हुने बताए । उनले सरकार गम्भीर नभए अगामी बैठकबाट सदन चल्न नदिने चेतावनी समेत दिए ।

यस्तै प्रतिपक्षी नेपाली काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जनता आवास कार्यक्रम संचालनका लागि सरकारले पटक पटक लिखित र मौखिक सम्झौता गरेबमोजिम कार्यविधि बनाउन नसकेको आरोप लगाए ।

उनले जनता आवास कार्यक्रमको कार्यविधि सच्याएर राम्रोसँग काम अगाडि नबढाए अगामी बैठकदेखि अनिश्चितकालका लागि सदन अवरुद्ध पार्ने चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ