नवलपरासी, ३ मंसिर । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा सांसद हृदयेश त्रिपाठीले जनतालाईलाई अपनत्व महसुस गराउन सके मात्र देश समृद्ध र जनता सुखी हुने बताएका छन् ।
नवलपरासी औद्योगिक व्यापार मेला–२०७६ को रामग्राम परासीमा आयोजित उद्घाटन कार्यक्रम नेता त्रिपाठीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री त्रिपाठीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने. क. पा.) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नवलपरासीमा स्वागत गर्दै औद्योगिक व्यापार मेलाको भव्य सफलताको शुभकामना व्यक्त गरे ।
कृषि क्षेत्रलाई माथि उठाउन सके मात्र महोत्सवको सार्थकता रहने त्रिपाठीले बताए । उनले कृषकले उत्पादित बस्तुको मुल्य निर्धारण गर्न पाएमा मात्र किसानले अपनत्व महसुस जिकिर गरे ।
उनले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए । आन्तरिक उत्पादनलाई अग्रणी महत्वका साथ आयोजना हुने यस्ता औद्योगिक महोत्सवले सार्थकता पाउने दाबी गरे ।
महोत्सव आयोजना गर्दा नेपाली संस्कृति तथा परम्परा समेतलाई समयसापेक्ष जगेर्ना गर्दै लैजानु पर्ने आवश्यकता उनले औल्याए ।
महोत्सव आयोजनाबाट आन्तरिक पर्यटक प्रबर्धनमा महत्वपूर्ण योगदान रहने बताए । भ्रमण वर्ष २०२० सफल बनाउन आम जनताले आ–आफ्नो ठाउँबाट “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने मनोविज्ञानका साथ महत्वपूर्ण योगदान दिनुपर्ने बताए ।
पुरातनवादी सोचलाई तिलाञ्जली दिएर नवीनतम् सोचका साथ सबैमा अपनत्वको महसुस गराउन सकेमा छोटो अवधिमा देश समृद्ध हुने र जनता सुखी बनाउन सकिने त्रिपाठीले सुझाए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विशेष अतिथि अर्थमन्त्री डा. युवराज खतिवडा रहेका थिए ।
तपाईको प्रतिक्रिया