आगामी २० महिना भित्र पुनर्निर्माण सकिन्छ : प्रम ओली

राजनीति

4/25/2019

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।

गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताएका छन् । “अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसक्छन्” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह समेत गरेका छन् । । “भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुदैन । ”

यससँगै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने बताएका छन् । “नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनुपर्छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे । 

प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुननिर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ