रौतहट, २० कार्तिक । पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमसँग जिल्ला अदालतमा लिन लागिएको बयान मंगलबार दिउसो अबेर रोकिएको थियो ।
आलम पक्षका वकिलले पहिला मिसिलको फोटोकपि आफूहरुले पाउनु पर्ने अनि मात्र बयानको काम अगाडी बढ्ने बताएपछि बयान केही समय स्थगित भएको थियो ।
आलमको बयान दिउँसो साडे तीन बजे देखी ४ बजेसम्म भएको र आलमलाई ९ वटा प्रश्न सोधिएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।
जिल्ला अदालत गौरमा बयानको क्रममा आलम पक्षका वकिलले मिसिलको प्रतिलिपि माग गरेका थिए । सो मिसिलको प्रतिलिपि अदालतले उपलब्ध नगराएपछि बयान रोकिएको थियो ।
पछि सहमति भएपछि आलमको बयान भएको थियो । प्रहरीले बयानका लागि बिहान ११ बजे आलमलाई जिल्ला अदालत गौर लगेको थियो । ८ सय १८ पेजको मिसिल सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा बुझाइसकेको छ ।
सोही मिसिलको प्रतिलिपि आलम पक्षका कानुन व्यवसायीले माग गरेका हुन् । आलम पक्षका वकिलहरुले ८ सय १८ पृष्ठको मिसिलको प्रतिलिपि पहिला आफुहरुले पाउनुपर्ने र त्यस पछि मात्र बयान सुरु गर्नुपर्ने अडान राखेपछि धेरै बेर बयान स्थगित भएको थियो ।
आज बुधबार पनि दिनभरी आलमको बयानमा लाग्ने र त्यसपछि मात्र थुनछेक बहस सुरु हुने बताइएको छ । जिल्ला अदालत गौरका न्यायाधीश दिपक ढकालको ईजालसमा आलमको बयान लिने काम भएको थियो ।
बयानमा आलमले घटना नभएको जिकिर गरेको एकजना आलमका वकिलले बताए । ८ सय १८ पेजको मिसिल सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा बुझाएको छ ।
सदरमुकाम गौर र जिल्ला अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । आलमको बयान बुधबार सकिने र जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवाल, सहन्यायधिवक्ता सुर्य राज दहाल, पर्सा जिल्ला न्यायधिवक्ता रुद्र प्रसाद पन्थी, उपन्यायधिवक्ता अर्जुन प्रसाद कोइराला र सहायक न्यायधिवक्ता राम प्रसाद पन्थीले पीडितको पक्षमा बहस गर्ने जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बताए ।
अधिवक्ता कटुवालले दिएको जानकारी अनुसार दुईजना वरिष्ठ अधिवक्ता सहित आशिक राम कार्की, गोबिन्द शर्मा बन्दी, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओम प्रकाश अर्याल, शतिषराज मैनाली र अमर राउतले पीडितको पक्षमा बहस गर्ने कटुवालले बताए ।
आलमको पक्षमा बहस गर्नका लागि रौतहटका २८ जना वकिलले वकालत नामा दर्ता गराएको र जिल्ला बाहिरबाट आउने वकिलहरुको वकालतनामा भने जिल्ला अदालतमा आउन सकेको छैन ।
तपाईको प्रतिक्रिया